अमेरिकाले भारत र पाकिस्तानलाई भन्यो– तत्काल ‘तनाव’ अन्त्य गर

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानबीच हाल उत्पन्न तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रुबियोले बिहीबार भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री मोहम्मद शहबाज शरीफसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए।

वार्ताका क्रममा रुबियोले अमेरिका भारत–पाकिस्तानबीचको प्रत्यक्ष संवादको पक्षमा रहेको स्पष्ट गर्दै, आपसी सम्पर्क सुधार गर्न र तनाव घटाउने दिशामा अघि बढ्न आह्वान गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री शरीफसँगको संवादमा अमेरिकी विदेशमन्त्री रुबियोले पाकिस्तानले आतंकवादी समूहहरूलाई दिइँदै आएको कुनै पनि प्रकारको समर्थन पूर्ण रूपमा बन्द गर्न ठोस र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, भारतीय सरकारी स्रोतका अनुसार भारतले पनि अमेरिका र अन्य मित्रराष्ट्रहरूलाई पाकिस्तानमाथि दबाब दिन आग्रह गर्दै उसले आतंकवादलाई दिँदै आएको समर्थन अन्त्य गराउन भूमिका खेल्न आग्रह गरेको उल्लेख छ।

वार्ताको क्रममा रुबियोले वर्तमान द्वन्द्वका कारण सर्वसाधारणको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै, यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। पाकिस्तानले भारतको हालैको हमलामा आफ्ना नागरिकको ज्यान गएको दाबी गरिरहेको छ भने भारतले भने सो हमला केवल आतंकी संरचनालाई लक्षित गरेर गरिएको स्पष्ट पारेको छ।

दुई छिमेकी राष्ट्रबीच बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर पार्ने सम्भावना रहेकोले अमेरिका शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आह्वान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *