लक्ष्मी सनराइज बैंकका सीइओ शाहलाई राष्ट्र बैंकले दियो नसिहत, के-के गरे बदमासी ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)  अजय शाहलाई  कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक तथा बैंकका सीइओ शाहलाई नसिहत दिएको हो ।

लक्ष्मी सनराइज बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहलाई नसिहत दिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै,  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाबमोजिम बैंकको सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाईएपछि सीईओलाई नसिहत दिएको हो ।

त्यसैगरी, लक्ष्मी सन्राइज बैंक लिमिटेडले राष्ट्र  बैंकबाट जारी गरिएको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत Ballooning किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको, नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि Bridge Gap कर्जा प्रदान गरी लामो समयपश्चात् Bridge Gap कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर रहेको पाईएकाले कारबाही गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (३) तथा यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को इ. प्रा. निर्देशन नं. २/०८० को बुँदा नं. १८ को उपबुँदा (ग) र (घ) व्यवस्था बमोजिम लक्ष्मी सन्राइज बैंक लिमिटेडले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सन्राइज बैंक लिमिटेडको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट कर्जा लिंदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको भेटिएकाले बैंकका सीइओ शाहलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकसहित ५ वटा वाणिज्य बैंकलाई करबाही गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *