काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन् ।
पहिलोपटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीनवटा कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
अदालतले मिश्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा तोडफोड तथा आगजनी जस्ता अराजक क्रियाकलाप गरिएको प्रहरीको भनाइ छ । सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाएको, सम्पत्ति लुटपाट लगायतका पुर्वयोजना अनुसार संगठित तवरले आपराधिक घटना घटाएको भन्दै प्रहरीले अनुसन्धान गर्न अनुमति माग गरेको छ ।







