काठमाडाैं । भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ । नेपाल र भारतबीच व्यवसाय, संस्कृति र खाना प्रवर्द्धन गर्न अप्रिल ११ बाट १३ सम्म महोत्सवको आयोजना हुन लागेको हो ।
भारतमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्सले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो ।
नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत–नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले बताए ।
आयोजक ऐभरेष्ट चेम्बरमा महासचिव डा. मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलिक नेपाली खानाहरूसहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिक माझ प्रवर्द्धन गरिने जानकारी दिए ।
महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल–भारत व्यापार सम्बन्धी छलफल, बिटुबी र बिटुसी नेटवर्किङ बैठक, लगानी विस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिम कार्यक्रम, नेपाली खाना र अध्यात्म शत्र समावेश छ ।
‘महोत्सवको आयोजना, नेपालको व्यापार, संस्कृति र खानाको विस्तारको योजना सहित आयोजना गरेका हौँ,’ घिमिरेले भने, ‘महोत्सवमा नेपाल–भारत दुबैतिरको व्यवसायी सहभागी हुँदैछन्। महोत्सवले नेपाल प्रवर्द्धन गर्ने अपेक्षा गरेका छौँ।’
कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति, खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बिटुबी व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्धहरू, उदीयमान व्यावसायिक लगानी क्षेत्रहरू, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत–नेपाल आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए ।






