काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो र अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।
यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ।
ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ। जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।







