काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ। आज पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजार (बरमहल) मा बसेकाे बैठकमा पार्टीका अध्यक्ष मो. रिजवान अन्सारीले अध्यक्षता गरेका हुन् ।
बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार र गृहमन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय डंगोल, रेणु डंगोल लगायत उपत्यकामा रहेका अन्य केन्द्रीय नेताहरूको उपस्थिति थियो ।
बैठकको पहिलो प्रस्तावमा स्थानीय जनताको हित विपरीत निर्माण भइरहेको केबलकार परियोजनाको विरोधमा सशक्त आवाज उठाउने निर्णय पारित भएको छ । साथै, बैठकले रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पनि पार्टीलाई सशक्त रूपमा लाग्न निर्देशन दिएको छ ।
बैठकमा पार्टीका नेताहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरे। पार्टीका अध्यक्ष अन्सारीले अहिलेको मुख्य राजनीतिक समस्याबारे चर्चा गर्दै दलीय निरंकूशताको समस्या उठाए। उनले सरकारको आलोचना गर्दै भने, “सत्ता चलाइरहेका पार्टीहरूले राष्ट्रिय ढुकुटी रित्याइरहेका मात्र होइन, विदेशी ऋणको बोझ पनि थपिरहेका छन्, जसले देशलाई आर्थिक संकटमा पुर्याइरहेको छ।” उनले आरोप लगाए कि, “राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने प्रयास गर्दै जनतालाई उक्साइरहेका छन्।”
अन्सारीले सरकारलाई चेतावनी दिँदै भने, “पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिइएका सबै सुविधाहरू कटौती गरी, कानूनी दायरामा ल्याउन यो बैठक माग गर्दछ।” उनले शोषित, पीडित, उत्पीडित वर्गको राजनीतिक शक्तिहरू एकजुट हुन आवश्यक रहेको कुरा समेत उल्लेख गरे। वर्तमान समस्याबाट मुक्त हुनका लागि ८ दलीय मोर्चा गठन गरिएको जानकारी दिँदै, उनले यस मोर्चाको प्रमुख जिम्मेवारी आफूले लिएको बताए।
मधेश प्रदेशकी सांसद विमला अन्सारीले देशभरि शोषित, पीडित र उत्पीडित वर्गका समुदायको जनजागरण अभियान आवश्यक भएको कुरा बताउँदै, मधेश प्रदेशमा यस अभियानलाई अग्रसर गरेको र यो अभियान ७७ जिल्लामा फैलाउने योजना प्रस्तुत गरिन्।
पार्टीका महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टीलाई देशको एकमात्र राजनीतिक विकल्पको रूपमा प्रस्तुत गर्दै, यस पार्टीले सैद्धान्तिक र वैचारिक रूपमा अघि बढेर जनताको हितमा काम गर्ने दृढता व्यक्त गरे। उनले पार्टीको इतिहासलाई स्मरण गर्दै भने, “विगतमा हामीले मुक्तिको लागि लड्ने क्रममा दुई पटक सैनिक गठन गरेका थियौं।”






