काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कृषि कर्जाको चरम दुरुपयोग भएको पाईएको छ। नेपाली कांग्रेसका क्षेत्रिय सभापति किरण भुषण ओलीको खुखुरा फर्ममा बैंकले लगानी गरेको झन्डै ४० करोड रुपैयाँ दुरुपयोग भएको पाईएको हो ।
चितवनको खैरेनीमा ‘किरणको पोल्ट्री’ नामक खुखुरा फर्म दर्ता गरी राजनीतिक दवावमा ३८ करोड रुपैंयाँ प्रवाह गरिएको थियो। तर उक्त फर्मले ऋण लिएदेखि आजसम्म कर्जाको इएमआई बुझाएको छैन । नेता किरण ओलीले बर्ड फ्लुका कारण सबै कुखुरा मरेकाले ऋण तिर्न नसकेको बताउँदै उक्त फर्ममा अझै ऋण थपिदिन दवाव दिईरहेको स्रोतले जनाएको छ ।
कृषिको नवीनतम उदाहरण चितवनमै रहेको ‘किरण को पोल्ट्री लाई राष्ट्रिय वाणिज्य बैंकले खुखुरा पालनका लागि भन्दै कांग्रेस नेता ओलीलाई ३८ करोड रुपैयाँ कर्जा प्रवाह त गर्यो तर उक्त पोल्ट्री फर्ममा भने एउटा पनि कुखुरा छैनन्। यस बिषयमा बुझ्न नेता हामीले नेता ओलीलाई सम्पर्क गरेका छौँ तर उनले भने उल्टै कर्जा थप नगरेर वाणिज्य बैंकले आँफूलाई डुबाएको दावी गरिरहेका छन्।
स्रोतका अनुसार, उक्त कर्जा पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको ठाडो निर्देशनमा दिइएको थियो। बैंकका सीईओ देवेन्द्र रमण खनाल र अध्यक्ष दिलिप ढुंगानाको मिलेमतोमै यस कर्जामा अनियमितता भएको स्रोतको दावी छ। यसैबीच कांग्रेसका नेता समेत रहेका अध्यक्ष ढुंगानाले सोहि खुखुरा फर्मका लागि अर्को ५ करोड ऋण थप्न लागेको खुलासा भएको छ।
कृषि उत्पादन वृद्धि गर्ने नाममा सहुलियत दरमा दिइने ऋण र सरकारकै स्वामित्वका बैंक भ्रष्टाचारको अखडा बन्न थालेका छन्। सरकारले कृषिलाई आधुनिकीकरण गर्ने घोषणा गरे पनि वास्तविका किसानले कृषि ऋण पाउन नसकेको तथ्य बाहिर आउँदा, पहुँचवालाले भने बैंकको अर्बौं रकम दुरुपयोग गरिरहेका छन्। बैंकले परियोजनाका आधारमा नभई राजनीतिक दबाब र कमिसन लिएर कर्जा प्रवाह गर्दै आएको बैंककै एक उच्च अधिकारी बताउँछन्। यसरी सहुलियत कृषि कर्जा पहुँचवालाले लिएर व्यक्तिगत रूपमा दुरुपयोग गर्दा वास्तविक किसान भने ऋण पाउनै नसकेर व्यवसाय गर्नबाट बञ्चित भइरहेका छन्।
कृषि कर्जा कार्यक्रमकै कारण उत्पादन वृद्धिभन्दा उल्टो, करोडौं रुपैयाँ दुरुपयोग हुँदा देशमा खाद्यान्न उत्पादन घट्दै गएको छ। नेपाल खाद्यमा आत्मनिर्भर बन्नुपर्नेमा आयात निर्भर बन्दै गएको छ। ३८ करोडको पोल्ट्री फर्ममै कुखुरा छैन भने अन्य कृषि कर्जाको अवस्था कस्तो होला ?
नेपाल राष्ट्र बैंकले बैंकहरूले कुल कर्जाको १३ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने नीति त ल्यायो। तर त्यो रकम कहाँ प्रयोग भइरहेको छ भन्नेबारे न राष्ट्र बैंकले चासो देखाएको छ, न त सरकारले नै निगरानी गरेको छ। नेपाल सरकार, राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन रहँदा कृषकका नाममा भ्रष्टाचार गर्नेहरु खुलेआम अपराध गर्दै हिंडिरहेका छन्। सरकारी तथ्यांकअनुसार, करिब १० लाख किसान कृषि ऋण नपाएर व्यवसायबाट वञ्चित भइरहेका छन्। तर पहुँचवालाहरू भने बैंकका उच्च अधिकारीहरूसँग मिलेर अरबौं रकम लुट्ने खेल खेलिरहेका छन्।
अहिलेको अवस्था हेर्दा सहुलियत कृषि कर्जा पहुँचवालाको व्यक्तिगत विलासी जीवन चलाउन, बैंकका केही अधिकारीहरूलाई मालामाल बनाउन र नेताहरूका आसेपासेलाई लाभान्वित गर्न मात्र प्रयोग भइरहेको देखिन्छ। यदि सरकार सचेत भएन भने, केही वर्षमै कृषि कर्जाका नाममा बैंकिङ प्रणाली नै धरासायी बन्ने निश्चित छ।
बैंकक सीइओ देबेन्द्र रमण खनालले किरण को पोल्ट्री फर्ममा झन्डै ४० करोड लगानी भएको उक्त कर्जा नउठेको बिषय स्वीकार गरेका छन्। उनले भनेका छन्,- ‘ सुरुमा राम्रै थियो तर अहिले उक्त फर्म संचालन नहुँदा ब्याज समेत उठ्न सकिरहेको छैन।’
त्यस्तै, कृषि कर्जाका तत्कालिन प्रमुख ऋषभ भट्टराईले बर्ड फ्लुका कारण खुखुरा मरेकाले कर्जा उठ्न नसकेको बताए। उनले भने, खुखुरा नभए पनि संरचना छन्,कर्जा थप्ने त बैंकको निति भित्रै पर्छ।






