काठमाडाैं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।
राष्ट्र बैंकले आज यी संस्थाहरूलाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान (केवाईसी) अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा गर्नुपर्ने, उच्च पदस्थ व्यक्ति (PEP) पहिचान तथा वर्गीकरण गर्नुपर्ने र उनीहरूका परिवार तथा सम्बद्ध व्यक्तिको जानकारी राख्नुपर्ने व्यवस्था लागू गरेको छ ।
नयाँ निर्देशिकाअनुसार पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकका विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ व्यक्ति भनेर ग्राहकहरूलाई वर्गीकरण गर्नुपर्नेछ ।






