वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाको छोरीको बिहेमा सरकारी गाडीको दुरुपयोग

काठमाडौँ। राष्ट्रिय वाणिज्य लिमिटेडका संचालक समिति अध्यक्ष दिलिप ढुङ्गानाले निजी स्वार्थका लागि पदको दुरुपयोग गरेको पाईएको छ।

अध्यक्ष ढुङ्गानाले आफ्नी छोरीको बिहेका लागि बैंकको ३ वटा नेक्सन इभी गाडीहरु विगत १५ दिनदेखि घरमा लगेर राखेको र आफ्ना आफन्त ओसार पसार गर्ने देखि बैंकका सवारी चालक कर्मचारी समेत प्रयोग गरि सामान बोकाउने गरेको बैंक स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष ढुङ्गानाकी छोरीको बिहे फागुन ६ गतेका लागि तय भएको छ । तर उनले बैंकका सरकारी गाडी १५ दिन अघिदेखि नै आफ्नो निजी काममा लगाइरहेको बैंकका एक सवारी चालकले बताए।

विभिन्न समयमा भ्रष्टाचार काण्डमा जोडिएका विवादित अध्यक्ष ढुंगानाले पहिलादेखि नै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। केहि दिन अघि मात्रै अध्यक्ष ढुंगाना बिरुद्ध भ्रष्टाचार र अनियमितता गरेको भन्दै राष्ट्र बैँकमा उजुरी समेत परेको छ । उक्त उजुरीका सम्बन्धमा राष्ट्र बैंकले छानबिन गरिरहेको जनाएको छ ।

नेपाली कांग्रेसका नेतृत्वलाई समेत प्रभावमा पारेर शक्तिको दुरुपयोग गर्न माहिर विवादित अध्यक्ष ढुंगाना राष्ट्रिय सभाका सांसद आनन्द ढुंगानाका भाइ समेत हुन् ।

यस सन्दर्भमा अध्यक्ष ढुङ्गानासँग बुझ्दा एउटा गाडी बैंकले दिएको र अन्य गाडी भने आँफुले कहिलेकाहिँ मात्र प्रयोग गर्ने गरेको भन्दै ढुङ्गाना भन्छन्,- ‘कहिलेकाहिँ त सबैले प्रयोग गरिहाल्छन् नि, यो कुनै ठूलो कुरा हैन ।’

सत्ता र शक्तिको आडमा यसरी खुल्लमखुल्ला सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै नियमविपरीतका कार्यमा छाती फुलाउदै गर्वका साथ अनियमितता सस्विकार्ने अध्यक्ष ढुंगानामाथि नियामक निकायले कसरी छानबिन गर्छ त्यो चौतर्फी चासोको बिषय बनेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *