काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले न्युरोडमा बन्न लागेको फुटपाथ मानिसहरुको फ्लो अनुसार सही भएको तर्क गरेका छन् ।
काठमाडौं महानगरले न्यूरोडमा मानिसहरुको चाप बढेको भन्दै पार्किङमा प्रयोग भएको सडक पार्किङ हटाएर फुटपाथ बनाउन थालेको थियो । तर सडक विभागले सडकको न्यूनतम मापदण्डअनुसार उक्त बनेको सडक भत्काएर त्यसको ठाउँमा फुटपाथको लम्बाइ लम्ब्याउँदा सडक साँधुरो हुने भएकाले त्यस्तो नगर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो ।
तर काठमाडों महानगरपालिकाले न्यूरोडको पार्किङमा प्रयोग भएको केही सडक महानगरले फुटपाथ बनाउन भन्दै सडक भत्काएको थियो । तर सडक विभागले त्यस्तो काम अहिलेको सडक निर्माणको नियम विपरीत भएको भन्दै पहिलेकै यथास्थितिमा सुधार गर्न काठमाडौं महानगरलाई पत्र काटेको थियो ।
बीचमा काठमाडौंका मेयर बालेन शाहले भत्केको सडकको विषय चक्रपथ सडकसँग जोडेर चक्रपथको सडक तत्काल निर्माण गर्न भन्दै सडक विभाग अगाडि महानगरको गाडीमा लगेर फोहोर फ्यालिदिएका थिए । त्यसपछि सडक विभाग र मेयर बालेन शाहबीचको द्वन्द्व झन चर्केर गएको थियो । सडक विभागले काठमाडौं महानगरपालिकालाइृ दुई दिनभित्र भत्काएको न्युरोडको सडक जस्ताको त्यस्तै बनाउन अल्टिमेटम पनि दिएको थियो ।
मेयर बालेनले एक स्टाटस लेख्दै महानगरले न्यूरोडमा फुथपाथ बनाउन लागेको काम जायज भएको जिकिर गरेका छन् । उनले न्यूरोडको पार्किङ हटाउन ज–जसले असहजता गरेका थिए उनीहरुले नै अहिले फुथपाथ विस्तार गर्न नदिएको तर्क गरेका छन् । उनले कमिसनको लागि यस्तो अवरोध भएको भन्दै फुटपाथ बनेरै छाड्ने जिकिर गरेका छन् ।






