काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्ट२ ब्रान्डका का ४ प्रकारका मसलाको आयात बिक्री वितरणमा रोक लगाएको छ।
हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको उक्त मसलालाई विभागले हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको हो ।
विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।
एमडीएचका १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने विभागले निर्णय गरेको छ ।
विभागकी महानिर्देशक डा. मतिना जोशीका अनुसार , ‘सम्बन्धित कार्यालय केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको र उक्त ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन समेत दिइसकेको छ ।
यसमा राखिने ‘एथलिन अक्साइड’ जून मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर हुन सक्ने आईएआरसीको भनाइका आधारमा यसको परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत बिभागले निर्देशन दिएको छ ।