बजेटको आकार नबढाउन सरकारलाई एफएनसीसीआईको सुझाव

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आफ्ना सुझावहरु पेस गरेको छ।

महासंघले एक कार्यक्रमबीच अर्थमन्त्री वर्षमान पुनलाई आफ्ना सुझावहरु पेस गरेको हो। दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न बजेटले रुपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ। ‘निजी क्षेत्र त्यसको केन्द्रविन्दुमा हुनुपर्छ’, सुझावमा भनिएको छ, ‘त्यसलाई हामीले नयाँ चरणको आर्थिक सुधार अभियान भनेका छौँ।’

आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष योजनामार्फत सुधार थालिनुपर्ने महासंघले सुझाव दिएको छ। ‘यसपटक बजेटको आकार नबढाउन हाम्रो सुझाव छ’, महासंघले भनेको छ, ‘बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्नेछ। जसले निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने हाम्रो आग्रह हो।’

राजश्व र खर्चको अनुमान गत वर्षको बजेटमा नभई वास्तविक खर्चको बढीमा १० प्रतिशत बढाई खर्च र राजश्व अनुमान गर्नु उपयुक्त हुने महासंघको भनाइ छ। ‘वित्तीय र मौद्रिक नीतिमार्फत लगानी बढाउन सुधारको नीति आवश्यक छ’, सुझावमा भनिएको छ।

महासंघले लगानी प्रवर्द्धन दशक, उद्यमी नेपाली कार्यक्रम, सानालाई सहुलियत कार्यक्रम, स्टार्टअप नेपाल कार्यक्रम, प्रविधिबाट समृद्धि कार्यक्रम, नेपालमा स्वागत छ कार्यक्रम, कृषि इकोसिस्टम सुधार, निर्यात प्रवर्द्धन विशेष योजना, ऊर्जा, नदी तथा वनजन्य उत्पादनको उपयोग, पूर्वाधार, मूल्य अभिवृद्धिकर सुधार, भन्सार प्रशासन सुधार एवं चोरीपैठारी नियन्त्रण, आयकरमा सहुलियतजस्ता व्यवस्था बजेटमा समेटिनुपर्ने सुझाव दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *