आन्तरिक पर्यटकको चहलपहल पोखरामा, दैनिक १५० माथि प्याराग्लाइडिङ उडान

चाडपर्वको बिदा पारेर घुम्न निस्केकाहरुले प्याराग्लाइडिङ गर्न निकै रुचाएका छन् । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको हो ।

दसैंतिहारका समयमा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । कोरोना महामारीपछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको संख्या बढेको छ ।

अहिले प्याराग्लाइडिङ गर्नेको संख्या राम्रो छ । यसले व्यवसायीलाई उत्साहित बनाएको छ, उनले भने । गतवर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि कम्पनीहरुले यसपटक प्याराग्लाइडिङको उडानमा छुट दिएका छैनन । गत वर्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौं, तर अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भएको थियो । त्यसैले अहिले छुटमा उडान गर्न सकेनौं, उनले भने।

लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले पनि अहिले छुटमा उडान गर्न कम्पनीहरु तयार नभएको उनले बताए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैंको समयमा दैनिक करिब ४०० वटासम्म उडान भएको थियो । अहिले दैनिक एक डेढ सय उडान भइरहेको उनले बताए ।

ुसाहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ, उनले भने, ‘पोहोरको असोजमा पनि बन्दाबन्दी खुकुलो भएपछि प्याराग्लाइडिङ गर्नेको संख्या निकै राम्रो थियो । कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ।’

पहारीले विशेषगरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए । उडान गर्नेमा कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी छन् । उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन् ।

यहाँ घुम्न आएका हेटौंडाका सिजन र रमिता कोइरालाले प्याराग्लाइडिङबाट पोखरा र आसपासका दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताएका छन् । ‘पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर हिमशृंखला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो’ सिजनले भने ।

यहाँ हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका १२ महिलासहित ३ सय ३८ प्यारापाइलट छन् । ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने लगानी करिब एक अर्ब पुगेको छ ।

अहिले ६ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *