महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

‘साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो कताएकी हुन् । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य क्षेत्रमा भने अझै पनि न्यून रहेको उनको भनाई थियो ।

संविधानले महिला र पुरुषलाई पैतृक सम्पत्तिमा बराबरी हक दिए पनि अझै पनि महिलाहरूले सम्पत्तिमा दाबी गर्ने क्रम अझै कम रहेको मन्त्री चौधरीले बताइन्। ‘महिलाहरूको सम्पत्तिमाथिको अधिकार बिस्तारै बढ्ने क्रममा छ । ९ प्रतिशतबाट अहिले बिस्तारै बढ्दै गएको छ । राष्ट्रिय जनगणनाले २४ प्रतिशत महिलाहरूको सम्पत्तिमा अधिकार रहेको देखाएको छ । अहिले फेरि २६।४ प्रतिशत भन्ने कुरा आएको छ’, मन्त्री चौधरीले भनिन्।

महिला मन्त्रालयले ५५ जिल्लाका १११ वटा पालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भइरहेको भन्दै मन्त्री चौधरीले कुरीति विरुद्धको कार्यक्रम तथा जोखिममा रहेका गर्भवती महिलाहरूका निम्ति हवाई उद्धार कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

महिलाको क्षेत्रमा विभिन्न निकायले काम गर्दै आए पनि अझै पनि लैंगिकमैत्री बजेट बन्न नसकेको भन्दै मन्त्री चौधरीले निकै न्यून मात्रामा बजेट छुटाइने गरेको उल्लेख गरिन्। ‘विभिन्न डोनर एजेन्सी र सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छौँ । तर अझै पनि लैंगिकमैत्री बजेट बन्न सकेको छैन’, मन्त्री चौधरीले भनिन्, ‘यो क्षेत्रमा धेरै न्यून बजेट छ । महिला मन्त्रालय भएको हुनाले ४० प्रतिशत भन्दा केही बढी बजेट हाम्रो मन्त्रालयको छ । तर अन्य मन्त्रालयमा भने निकै न्यून बजेट छ ।’

अबका कार्यक्रमले गरिबीको रेखामुनि रहेका लक्षित वर्गलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्त्री चौधरीले जोड दिइन् । ‘हाम्रा नीति, योजना कार्यक्रम गरिबीको रेखामुनि रहेका व्यक्ति केन्द्रित हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यो वर्गको अवस्था माथि उठ्न नसकेमा समग्र महिलाको आर्थिक अवस्था माथि उठ्न सक्दैन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *