काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरी सहकारी संस्थाहरू समस्या देखिन थालेको समाचार दिनहुँ बाहिरिरहेका छन् । सहकारी संस्थाहरू सहकारी मूल्य मान्यताभन्दा फरक तरिकाले चल्न खोज्दा सहकारी अभियान नै धरासायीमा पर्नेर खतरा बढ्न थालेको छ ।
सहकारीबाट पीडित भए भन्दै सहकारी विभाग धाउनेहरूको संख्या बढ्ने क्रम रोकिएको छैन । ठूला भनिएका सहकारीक सञ्चालकहरू नै फरार हुने क्रम बढ्दा सहकारी प्रति आमा नागरिकको विश्वास गुम्न थालेको छ । सहकारीको सिद्धान्त भनेको एउटा समुदायमा सहकार्य गरिनु हो। समुदायद्वारा समुदायकै लागि काम गर्नु हो । तर, नेपालमा सञ्चालित धेरैजसो सहकारीले सहकारी सिद्धान्तलाई पालना गरेका छन् । सिद्धान्तविपरीत चलेका संस्था जोखिममा परेका छन् ।
सहकारीहरू समस्यामा पर्न थालेको विषय एकपछि अर्को गरी सार्जनिक भइरहँदा राष्ट्रिय सहकारी महासंघले देशभर सञ्चालित सहकारीमध्ये १.५ प्रतिशत सहकारीमा मात्र समस्या देखिएको दाबी गरेको छ ।
महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीको सिद्धान्त विपरित चलेका करिब ५०० सहकारीमा मात्र समस्या देखिएको बताउँछन् । उनी भन्छन्, सबै क्षेत्रमा राम्रा र खराब पक्ष हुन्छन् । देशभर करिब ३० हजार सहकारी संस्था छन् । त्यसमध्ये १.५ प्रतिशत अर्थात् पाँच सय हाराहारी सहकारीमा समस्या देखिएको छ । ९८ प्रतिशत सहकारीको अवस्था ठीकठाक छ’ सिद्धान्त विपरित चलेका एक सय वटा सहकारी र बाँकी ४ सय सहकारी र कम्पनी छुट्याउँन नजान्दा समस्यामा रहेको उनले बताए ।
सहकारीले बहुआयामिक गरिबीलाई हटाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए । अनेकताबीचको एकतालाई जोड्न सहकारीले खेलेको भूमिका बिर्सनु नहुने समेत उनले स्मरण गराए ।
महिला आर्थिक पत्रकार संघ (फेजा) संगको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्लले पनि थोरै मात्र सहकारीमा समस्या भएको दाबी गरिन् । सबैभन्दा बढी महिला आवद्ध भएको क्षेत्र पनि सहकारी नै भएको उनको दाबी थियो । यो क्षेत्रमा ७५ लाख महिला आवद्ध रहेको संघको भनाइ छ । ४ हजार ६ सय सहकारी महिलाले मात्र सञ्चालन गरेको सहकारी ९१ प्रतिशत सफल रहेको संघको दाबी छ ।
महासंघका अनुसार सहकारी क्षेत्रमा १ लाखभन्दा बढीले सहकारीमा प्रत्यक्ष रोजगारी पाएका छन् भने १२ लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।
यद्यपि सहकारीले कुल गार्हस्थ उत्पादन ५ प्रतिशत योगदान गरेको कुनै आधिकारिक तथ्यांक भने छैन । नेपालमा कति सहकारी संस्था सञ्चालनमा छन् भन्ने आधिकारीक तथ्यांक नै महासंघसँग उपलब्ध छैन ।
महासंघकी अध्यक्ष मल्लले जबसम्म सहकारीलाई उद्योग व्यवसायको रुपमा लिइदैन तबसम्म अनुमानका भरमा मात्र जिडिपिको योगदान ५ प्रतिशत भन्नुपर्ने बाध्यता रहेको बताइन् । यस्तै सहकारीको वित्तिय क्षेत्रमा २० प्रतिशत योगदान रहेको बताइएको छ । जीडीपीमा योगदान गरे पनि सरकारले सहकारी क्षेत्रलाई अवहेलना गरेको गुनासो उनले गरिन् ।
पछिल्लो समय सहकारीलाई चारैतिरबाट आक्रमण भइरहेको पनि उनले बताइन् । यो क्षेत्रको राम्रो कुरालाई भन्दा पनि नराम्रो कुरालाई हाइलाइट गरिएको उनको गुनासो थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय अनुसार हालसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सरकारले व्यवस्थापनको जिम्मा लिएको छ ।