राप्रपाको प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन, आखिर किन आत्तियो सरकार ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा सुरु गरेको प्रदर्शनमा नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

शान्तिसुरक्षा कायम राख्न र प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिनका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।सोहि अनुरुप अहिले काठमाडौंमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। त्यस्तै विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।

राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै भएको प्रदर्शनमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौंमा आएका बताइएको छ । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *