डिजिटल कारोबारमा छलाङ : एक महिनामै थपिए २ लाख ७७ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ। अहिले चियापसलदेखि तरकारी पसलसम्म साना किराना पसलदेखि ठूला-ठूला सपिङ मलसम्म डिजिटल कारोबारले प्राथमिकता पाइरहेको छ ।

शहरी क्षेत्रका मानिसहरू क्यास बोक्न छाडिसकेका छन् । बोक्नु पर्ने झन्झट पनि नहुने, हराउने डर पनि नहुने । त्यसमा पनि जहाँ जतिबेला पनि सजिलै प्रयोग सकिने भएपछि भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड ३७ लाख नाघेको छ । यो अवधिसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ । एक महिनाको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख ७७ हजार ३६१ ले बढेको छ । माघ महिनासम्म २ करोड ३५ लाख ६ हजार २८ प्रयोगकर्ता मोबाइल बैंकिङ सेवामा जोडिएका थिए ।

यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १८ लाख ७४ हजार ९८२ पुगेको छ । माघमा यस्तो सेवा प्रयोगकर्ताको संख्या १८ लाख ३५ हजार ८४९ थिए ।

डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि निरन्तर बढिरहेको छ । फागुनसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २६ लाख ५१ हजार १८५ पुगेको छ । माघसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २५ लाख २४ हजार १२१ रहेको थियो ।

फागुनसम्म क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ८३ हजार २४ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या २ करोड १६ लाख ३३ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या १२ लाख २८ हजारमाथि रहेको राष्ट्र बैंकको तथ्यांकमा उपलब्ध छ ।

चालु आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङबाट २ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ३ करोड २४ लाख ६२ हजार ९५४ वटा कारोबारबाट उक्त रकम बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, इन्टरनेट बैंकिङमार्फत २ लाख ८४ हजार १४१ पटक गरेर १४ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ।

डेबिट कार्डमार्फत ९१ अर्ब ४८ करोड रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ७६ करोड रुपैयाँ र कनेक्ट आइपीएसमार्फत अधिकतम ४ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *