काठमाडौं। नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको छ ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
त्यस्तै, डिजेल ०.३९ रुपैयाँ र हवाइ इन्धन ०.३८ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य २७.४४ रुपैयाँ प्रतिसिलिन्डर घटेको आएको निगमले जनाएको छ ।
मूल्य घटे पनि ग्यास बिक्रीमा निगमलाई अझै प्रतिसिलिन्डर दुई सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेकाले मूल्य यथावत रहेको निगमले जानकारी दिएको छ ।
आइतबार इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट नयाँ खरिद मूल्य आउँदा पेट्रोलको मूल्य चार रुपैयाँ ७६ पैसा प्रतिलिटर बढेर आएका कारण निगमले मूल्य वृद्धि गरेको जनाएको छ।
उपत्यकामा डिजेल र मट्टितेलको मूल्य एक सय ५८ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।
आन्तरिक हवाइ इन्धन एक सय ३६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन १.०३५ डलर प्रतिलिटर तथा ग्यासको मूल्य एक हजार नौ सय १० रुपैयाँ प्रतिसिलिन्डर कायम गरिएको आयल निगमले जनाएको छ ।








