काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने पक्का भएको हो ।
प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुँदैछ ।
आठ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा यूएईसँग खेल्नेछ ।
यसैगरी नेपालले समूहगत चरणको अन्तिम खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, मलेसिया, आयोजक श्रीलंका र थाइल्यान्ड रहेका छन् ।
यो संस्करणमा भारत र पाकिस्तानबिचको खेल भने जुलाई २१ तारिखमा खेलिने छ । प्रतियोगिताका सबै खेल डम्बुलामा खेलाइने छ । प्रारम्भिक चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको दुबै सेमिफाइनल खेल जुलाई २६ तारिखमा खेलिने छ । फाइनल खेल भने जुलाई २८ तारिखमा खेलाइने छ ।








