सरकारी कर्मचारीले पनि सेयर किन्न पाउने

काठमाडौं। अब निजामती कर्मचारीहरूले सेयर बजारमा काराेबार गर्न पाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई सेयर खरिदबिक्री गर्न अनुमति दिइएकाे छ ।

सरकारी कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पाउने छैनन् ।

यद्धपी खुल्ला बजारबाट सेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद गर्न भने पाउनेछन् । उक्त व्यवस्थामा कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने उल्लेख गरिएकाे छ ।

यस्तै, कर्मचारीहरुले राजनीतिमा दलमा आवद्ध हुन , सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र काम गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा लगायत लिन र सापटी समेत लिन नपाइने भएकाे छ ।

निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सन्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पनि समेत नपाइने पनि संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *