काठमाडौं । देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको एनआईसी एशिया बैंकमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको छ । बैंक तथा संस्थाबाट अर्बौ रुपैयाँ ऋण लिएर तिर्नुको सट्टा तिनै संस्थामाथि खनिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एनआईसी एशिया बैंकमाथि निरन्तर प्रहार गरिरहेका छन् । कहिले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने धम्कि दिएर त, कहिले आफ्नो निहित स्वार्थका लागि ऋणीहरुलाई ऋण नतिर्न उक्साउँदै आएका प्रसाई अहिले एनआईसी एशियाको नामै तोकेर ‘सहकारी डुबेझैँ एनआईसी एशिया बैंक डुब्दैछ, निक्षेप निकाल्नुस’ भन्दै निक्षेपकर्ता भड्काउन लागि परेका छन् ।
ऋणीको पक्षमा नाटकीय वकालत गर्दै आएका प्रसाईंको कुरामा विश्वास गर्ने जमात पनि ठूलै छ । वित्तीय साक्षरताको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई उनको कुरा जायज लाग्नु स्वाभाविक नै हो । तर उनै प्रसाईलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नुपर्छ भन्ने दायित्व र सामान्य जानकारीसमेत छैन । अझ भनौं, प्रसाईं बुझेर पनि बुझ पचाईरहेका छन् ।
ऋण लिएर तिर्दीन भन्ने छुट कसैलाई हुँदैन । ऋण लिएपछि तिर्नु ऋणीको प्रमुख दायित्व हो । किनकि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण आम निक्षेपकर्ताको सम्पत्ति हो ।
बैंकहरू डुब्दै छन् भनेर अफवाह फैल्याउँदै आएका प्रसाईं र उनको कपोकल्पित हल्लालाई विश्वास गर्दै आएकाहरुलाई बैंक कस्तो अवस्थामा डुब्छ भन्ने सामान्य हेक्कासमेत छैन । नेपालका बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, निर्देशन र नियन्त्रणमा चल्ने संस्था हुन् । वित्तीय संस्थामाथि राष्ट्र बैंकले नियमित रुपमा अनुगमन गरिरहेको हुन्छ । देखिएका कमी कमजोरी सुधार र समाधानका लागि निर्देशन दिने मात्र होइन नियम मिचेको खण्डमा आवश्यक कारबाही र जरिवाना समेत गर्ने गर्छ । जसका कारण बैंकले नियतबस गल्ती गर्न सक्दैनन् । नियम अनुरुप नचलेका अथवा संकटग्रस्त अवस्थामा पुगेका बैंकहरुलाई मर्ज गर्ने, टेकओभर गर्ने जस्ता काम राष्ट्र बैंकले गर्छ । जसका कारण पनि बैंक डुब्ने खतरा शुन्यप्राय रहन्छ ।
यद्यपि प्रसाईं जस्ता गलत सोच, खराब नियत र गलत भाष्य निमार्ण गर्न खोज्नेहरूको कुरालाई विश्वास गर्दा कहिलेकाही यसले बैंक तथा वित्तीय संस्थाहरुलाई चुनौती भने पक्कै थपिदिन्छ ।
बैंकको अवस्था कस्तो छ भन्ने कुरा उसको वित्तीय सूचकहरूले देखाउँछ । प्रसाईंले डुब्न लागेको भनेर हल्ला फिँजाएको एनआईसी एशिया बैंकको मूख्य वित्तीय सूचकहरू हेर्ने हो भने बैंकको अवस्था अत्यन्त स्वस्थ देखिन्छ । बैंकको अवस्था कस्तो छ भन्ने कुरा, उसको क्यापिटल एड्युकेसी रेसियो, तरलताको अवस्था, निष्क्रिय कर्जा, बैंकको सीडी रेसियो हेर्दा प्रष्ट हुन्छ। जसअनुसार पुसमसान्तसम्म बैंकको क्यापिटल एडुकेशी रेसियो ११.७३ प्रतिशत, एनपीएल १.१९ प्रतिशत, सीडी रेसियो ७६.८६ प्रतिशत र तरलताको अवस्था २७.२८ प्रतिशत देखिन्छ । जुन बैंक सबल छ भन्ने बलियो आधार हो ।
बैंक तथा वित्तीय संस्थाका बारे हल्का टिप्पणी गर्दै भ्रामक सन्देश प्रवाह हुन थालेपछि नेपाल राष्ट्र बैंकले समेत विज्ञप्ति सार्वजनिक नगेर सर्वसाधारणको निक्षेप सुरक्षित रहेकोले हल्लाको पछि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
एनआईसी एशिया बैंक वित्तीय सूचकमा मात्र नभएर अर्थतन्त्रलाई टेवा पुर्याउन, रोजगारी सिर्जना गर्न र सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्नसमेत उत्तिकै अग्रसर छ ।
वित्तीय पहुँचभन्दा बाहिर रहेका दूरदराजमा समेत शाखा विस्तार गरेर हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य गराउने नेपाल राष्ट्र बैंकको अभियानलाई समेत यस बैंकले उलेख्य सहयोग पुर्याएको छ ।
मुलुकभर ३६० शाखा कार्यालय, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल र ६६६ एटिएममार्फत यस बैंकले ४१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । स्थापनाकालदेखि नै वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै आएको यस बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा समेत उत्साहजनक सहभागिता जनाएको छ ।
वित्तीय पहुँचका लागि बैंकले खेलेको भूमिका अतुलनीय छ । यस बैंकले वर्षेनी अर्बौं रुपैयाँ राजश्व बुझाएर अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ ।
हरेक व्यक्ति तथा संस्थामा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । राम्रा पक्षलाई अझ मजबुत र नराम्रा पक्षलाई सुधार गर्दै लैजान सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । एनआईसी एशिया बैंकका सन्दर्भमा पनि प्रक्रियागत त्रुटी नहोलान् भन्न सकिन्न । तर आफ्नो निहित स्वार्थ सिद्ध गर्नकै लागि कुनै पनि संस्थाप्रति नै आँच आउने गरी हल्का टिप्पणी गर्नू आफैमा खेदजनक छ । समग्र बैंकिङ प्रणाली र सिंगो राज्य व्यवस्थामाथिनै धावा बोल्दै प्रसाईंले अवाञ्छित क्रियाकलाप गरिरहँदा समेत राज्यले उनलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने हिम्मत गरेको देखिँदैन ।






