महेन्द्रको करोडौंको जमिन भूमाफियाको कब्जामा : लिँदै नलिएको ऋणले बनायो सुकुम्बासी

काठमाडौं- नेपाली समाजमा एउटा उखान चर्चित छ ‘खाएको बिषले भन्दा नखाएको बिषले पोल्छ’ । यो भनाइ ललितपुरको गोदावरी नगरपालिका-६ लेलेका महेन्द्र श्रेष्ठको जीवनसँग मेल खान्छ । उनले अनाहकमा झेल्नुपरेको समस्या र भोग्नुपरेको पीडा सिनेमा देखाइएको दर्दनाक कथाभन्दा कम छैन ।

विपन्न परिवारका श्रेष्ठको जीवन भूमाफियाको चंगुलमा फसेर तहसनहस भएको छ । महेन्द्र यतिबेला श्रीमती सरिता श्रेष्ठको मृत्युको प्रमाणपत्र बोकेर गुहार माग्दै कहिले प्रहरीकोमा पुग्छन्, त कहिले बैंक, कहिले वडा कार्यालय पुग्छन्, त कहिले आफूलाई सुकुम्बासी बनाउने तीनै भूमाफियाको शरणमा पुग्छन् । तर न्याय कहाँ मिल्छ उनलाई थाहा छैन । उनी यस्तो चंगुलमा फसेका छन्, जहाँ पढेलेखेका भूमाफियाले उनले इमन्दारीताको फाईदा उठाउएर सुकुम्बासी अनि लिदै नलिएको ऋणको भारी बोकाएर करिब आधा करोडको ऋणी बनाईदिएका छन् ।

घटना आजभन्दा तीन वर्ष अगाडिको हो । आफू विपन्न परिवारमै जन्मिएका भएपनी आफ्नो सन्तानको उज्ज्वल भविष्य र परिवारको खुशीका लागि उनी विदेशिन्छन् । सामान्य लेखपढ गर्न  समेत नजान्ने महेन्द्रले विदेशमा ज्यालामजदुरी गरेर कमाएको पैसाले जेनतेन ललितपूरको लेलेमा १ रोपनी, नौ आना, दुई पैसा जग्गा जोड्छन् । उनले खाइनखाइ जोडेको उक्त्त जग्गामा भूमाफिया र बिचौलियाको गिद्दे नजर पर्छ । महेन्द्र विदेशमै रहेको बेला उनकी श्रीमती सरितालाई धेरै कमाउने आश देखाउँदै उनकै छिमेकी बिनेश नगरकोटीले प्रलोभनमा पार्छन् । नगरकोटीले आफू कृषि क्षेत्रमा जानकार रहेको नाटक मञ्चन गरेर साझेदारीमा कृषि व्यवसाय गर्ने, त्यसको लागि बैंकबाट ऋण लिनुपर्ने र ऋण लिनको लागि बैंकमा जग्गा धितो राख्नुपर्ने भन्दै सरितालाई महेन्द्रले जोडेको जग्गा धितो राखेर ऋण लिन सुझाउँछन् ।

नगरकोटीले र भूमाफियाको पूर्वयोजना अनूरुप कागज तयार पार्छन्। कागजमा के लेखिएको थियो भन्ने सरितालाई थाहा हुँदैन । महेन्द्रले जस्तै उनी पनि लेखपढ गर्न जान्दैनथिन् । विश्वासकै भरमा सरिताले उक्त कागज श्रीमानलाई पठाउँछिन् र भन्छिन्, ‘बिनेस नगरकोटीसँग मिलेर कृषि व्यवसाय गर्न लागेको तपाईंको अनुमति चाहिन्छ रे यो कागजमा ल्याप्चे हानेर पठाइदिनु ।’

विश्वासकै आधारमा महेन्द्रले पनि श्रीमतीले भने अनुरूप् नै गर्छन् ।

महेन्द्रको जग्गा कसरी पुग्यो भूमाफियाको नाममा ?

विश्वासकै आधारमा विदेशबाट कागजमा ल्याप्चे लगाएका महेन्द्रको जग्गा थाहै नपाई बिचौलिया हुँदै भूमाफिया जेवी होल्डिङका समीर योञ्जनको नाममा पुगिसक्छ । यो बारेमा न सरितालाई थाहा थियो, न त महेन्द्र नै जानकार थिएँ । आफ्नो विश्वासपात्र मानिएका छिमेकीले व्यवसायको आश देखाएर महेन्द्रको जिन्दगीभरको कमाइ क्षणभरमै भूमाफियाको कब्जामा पारिदिन्छन् ।

थाहै नपाइ जिन्दगीभरको कमाइ भूमाफियाको कब्जामा पुगेको महेन्द्रको परिवारमा फेरि अर्को बज्रपात आइपर्छ ।  ‘हुने हार दैव नटार’ भनेझैँ महेन्द्रकी श्रीमतीको मृत्यु हुन्छ । मृत्युअघि सरिताले महेन्द्रलाई भनेकी हुन्छिन्, हाम्रो जग्गा बैंकमा धितो राखेर बिनेस र समीर योञ्जनले मिलेर बैंकबाट पैसा लिएको छ भन्थे । व्यवसाय गर्ने भनेको पनि होइन रहेछ । मलाई ढाँटेका रैछन् । बैंकबाट पैसा लिएर मलाई पाँच लाख रुपैयाँ दिए । त्यसैले उपचार गरे ।’

केही समयपछि महेन्द्रले एनआईसी एशिया बैंक लेखिएको एउटा पत्र भेट्छन् । उक्त पत्र बोकेर उनी एनआईसी एशिया बैंक पुग्छन्  । उक्त जग्गा मालपोत कार्यालयले रोक्का राखेको छ भन्ने कुरा बैंक पुगेपछि थाहा पाउँछन् । त्यसपछि उनी मालपोत कार्यालय पुग्छन् । मालपोत पुग्दा उनलाई थाहा हुन्छ, आफ्नो नाम त जग्गा नै छैन ।  ललितपुरको गोदावरी नगरपालिका-६ लेलेस्थित चम्पेश्वरीमा महेन्द्र श्रेष्ठको नाममा रहेको १ रोपनी, नौ आना, दुई पैसा जग्गा जेवी होल्डिङ प्रमुखका जगत बहादुर घिसिङका सहोदर सालो समीर योन्जनको नाममा दर्ता भइसकेको हुन्छ । आफ्नो जीवनभारको कमाइ कतिबेला रित्तियो भन्ने नै महेन्द्रलाई थाहै हुँदैन ।  योन्जनको नाममा गएको जग्गा पनि एनआईसी एशिया बैंकमा धितोबन्धक छ भन्ने कुरा महेन्द्रलाई मालपोत कार्यालयबाटै थाहा हुन्छ ।

एकातिर श्रीमती गुमाएको पीडा ताजै थियो । अर्कोतिर जीवनभरको कमाइ पनि रित्तिएको चोटले उनलाई आलो घाउमा नुनचुक छर्किएझैँ हुन्छ । चोटै चोटले रन्थनिएका उनी फेरि एनआईसी एशिया बैंकको सोह्रखुट्टे शाखा पुग्छन् । बैंक शाखा प्रमुख प्रमोद न्यौपानेले सूचना दिन नमिल्ने भन्दै फर्काइदिन्छन् । भोलिपल्ट उनी आफूसँग एक मात्र प्रमाणको रुपमा रहेको श्रीमतीको मृत्युदर्ता प्रमाणपत्र बोकेर थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एशिया बैंकको प्रधान कार्यालय पुग्छन् । त्यहाँ पनि उनको गुनासो सुन्न कोही नभएपछि पत्रकारको सहायतामा बैंकका कर्जा विभागका प्रमुखलाई भेट्छन् । त्यसपछि उनको नामको जग्गा समीर योन्जनको नाममा नामसारी गरी श्रीमतीको सरिताको नामबाट ४३ लाख ७५ हजार ऋण निकालेको कुरा थाहा पाउँछन् । एकछिन् त उनलाई एकपछि अर्को गर्दै आफ्नो जीवनमा घटेका फिल्मी शैलीका घटना सपना जस्तै लाग्छन् । तर यो कुनै सपना थियो, न त फिल्मको रिलमा देखाइएको कथा नै थियो । यो त उनले जीवनमा भोगेका सत्य घटना थिए ।

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँ महेन्द्रको जीवनमा एकपछि अर्को गर्दै समस्याका चाङहरू थपिए । श्रीमती र जीवनभरको पसीनाको कमाइले जोडेको एक टुक्रा जमिन समेत गुमाएका महेन्द्रको थाप्लोमा अब करिब आधा करोड ऋण पनि छ । जालसाजी गरेर महेन्द्रको सम्पत्ति हडपेका भूमाफिया योञ्जन र बिचौलिया नगरकोटी अहिले फरार छन् । बैंकबाट लिएको ऋण जस्ताको त्यस्तै छ । बैंकले पटकपटक समीर योञ्जनलाई ऋण तिर्न ताकेता गर्दै पत्र पठाएको छ । दुई जनाले संयूक्त रूपमा लिएको ऋणको दायित्व बराबर हुने भए पनि कुनै एक ऋणीको मृत्यु भएमा दोस्रो व्यक्तिले सम्पूर्ण दायित्व बहन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर समीर योञ्जन भने उक्त दायित्वबाट भागिरहेका छन् । यदि समीर योञ्जनले ऋण नतिरेको उक्त ऋण महेन्द्रले नै तिर्नुपर्ने हुन्छ । अन्यथा धितोबन्धक राखिएको सम्पत्ति लिलाम गरेर बैंकले उठाउने बैंक अधिकार बैंकसँग छ ।

महेन्द्रसँग न ऋण तिरेर जग्गा सकार गर्ने क्षमता छ, न जीवनभरको कमाइ आफ्नो नाममानै छ । भूमाफियाको कब्जामा पुगेको आफ्नो जग्गा फिर्ता आउँछ कि भन्ने आशमा यतिबेला महेन्द्र विवाह दर्ताको प्रमाणपत्र, नागरिकता, लाजपुर्जा र श्रीमतीको मृत्युदर्ता बोकेर न्यायालयको ढोका ढकढक्याइरहेका छन्। प्रहरी प्रशासन गुहारी रहेका छन् ।

प्रहरी प्रशासनले पनि आफ्नो समस्यालाई गम्भीरताका साथ नलिएको उनी बताउँछन्। ‘मैले लुभु प्रहरीकोमा रिपोर्ट लेखाएको छु। जाउलाखेल प्रहरीको गए । प्रहरीले उल्टै आरोपितहरूलाई आफैँ खोज्नु हामी पनि सहयोग गर्छौं भन्छन्,’ उनले भने।

श्रीमती बिरामी भएपछि नेपाल फर्केका महेन्द्रलाई श्रीमती बचाउन नसकेको आत्मग्लानी त छँदै छ । समस्यै समस्यामा अल्झिएका महेन्द्रले अन्य काम गर्ने पाएका छैनन् । उनको कोठा बहाल एक लाख ९२ हजार पुगिसकेको छ । एकपछिको अर्को तनावले महेन्द्रलाई पिरोल्नु पिरोलेको छ । ‘श्रीमतीले छोडेर गइन्। कोठा बहालमा लिएर बसेको घरमा पनि बुझाउन सकेको छैन। त्यसैले कोठा छोड्न वा सार्न सक्ने अवस्था छैन। एउटा छोरो छ। उसको अनुहार हेरेर दया लाग्छ। भूमाफियाले जग्गा कब्जा गरे। अब छोराले के गरेर जीवन बिताउँला भनेर पिरोलिरहेको हुन्छ,’ उनले भने।

जमिन हडप्ने भूमाफियाका आफन्तहरूले समेत ‘ आफ्नो जग्गा बुझ्दै नबुझी  किन पास गर्दिएको त ?’ भन्दै आफूलाई नै मानसिक यातना दिइरहेको महेन्द्र बताउँछन्।

‘संयुक्त भनेर निकालिएको ऋण सबै समीर योञ्जनले मै चलाएका छन् । बैंक खाता विवरण हेर्दा समीरले एक पटक १० लाख र एक पटक ३३ लाख गरी निकालेको प्रष्ट देखिन्छ। समीर योञ्जनको को हो म चिन्दिन । बिनेश नगरकोटी म आएको दिनदेखि नै फरार छन् । बैंकबाट धौं-धौं समीर योञ्जनको नम्बर पाए। उनीहरूले पनि साला भिनाजुले मिलेर मेरो जग्गा कब्जा गरेका रहेछन् । समीरका भिनाजुको नाम जितबहादुर घिसिङ हो,’ उनले भने। ‘उनीहरूले एउटा ऋणी मरेको अवस्थामा बैंकमा आधा-आधा रकम तिरेर जमिन आफ्नो नाममा ल्याउनुपर्छ भनेर उल्टो मलाई नै दबाब दिइरहेका छन् । मैले लिँदै नलिएको ऋण कहाँबाट तिर्नु ?,’ महेन्द्र प्रश्न गर्छन्।

न्यायको लागि धाउँदा धाउँदै महेन्द्रले धेरै जोर जुत्ता फटाइसकेका छन् । तर कतैबाट पनि न्याय नमिलेपछि उनी मिडिया गुहार्न थालेका छन् ।

जेवी होल्डिङस् र बिनेस नगरकोटी कनेक्सन

बिनेस नगरकोटीले जेवी होल्डिङस्का मालिक जितबहादुर घिसिङले सञ्चालन गरेको सातदोबाटोस्थित क्यापिटल सहकारीबाट ऋण लिएका थिए । नगरकोटीले उक्त सहकारीको ऋण नतिरेपछि घिसिङले उनलाई ताकेता गर्नुका साथै बारम्बार दबाब दिइरहेका थिए । नगरकोटी उनै घिसिङका सालो समीर योञ्जनका साथी हुन् । उनकै माध्यमबाट नगरकोटी र घिसिङको चिनजान भएको थियो । क्यापिटल सहकारीबाट लिएको ऋण तिर्ने क्षमता नगरकोटीसँग नभएपछि घिसिङले आफू एनआईसी एशिया बैंकको रेगुलर ग्राहक भएको र सोह्रखुट्टे शाखाबाट करोडौं ऋण लिएर घरजग्गा कारोबार गरिरहेको बताए । घिसिङले नगरकोटीलाई पनि बैंकबाट ऋण लिएर सहकारीको ऋण तिर्न सुझाव दिए ।

बैंकले बिनाधितो ऋण नदिने भएपछि नगरकोटीको नजरमा रहेकी महेन्द्रकी कि श्रीमती सरिता श्रेष्ठ र महेन्द्रको नाममा रहेको सम्पत्तिमा आँखा पर्छ । जेवी होल्डिङस्, समीर योञ्जन र नगरकोटीको योजनामा महेन्द्र श्रेष्ठको जग्गा समीर योञ्जनको नाम ल्याउने र ऋण लिएर अन्ततः जग्गा कौडीको मूल्यमा लिलाम गरेर छोडिदिने ग्राण्ड डिजाइन बन्छ । पूर्वयोजनाअनुसार महेन्द्रको जग्गा कब्जा गरेका जेवी होल्डिङस् र समीर योञ्जन नगरकोटीलाई देखाएर पानीमाथिको ओभानो बनिरहेका छन्  ।

यदपि, जग्गा नामसारी गर्नेदेखि बैंकबाट ऋण लिँदासम्म सम्पूर्ण कारोबार गर्दासम्म समीर योञ्जन नै प्रमुख देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *