काठमाडौं । नेपालको बैंकिङ क्षेत्र साइबर अपराधको जोखिममा रहेको विज्ञहरूले बताएका छन् ।
इन्टरनेट र मोबाइल बैंकिङ प्रयोगकर्ता बढेसँगै यी क्षेत्रमा साइबर अपराधको जोखिम पनि बढेको साइबर सुरक्षा विज्ञ विजय लिम्बू बताए । साइबर अपराधका घटनाहरु प्राय धेरै प्रयोगकर्ता भएको ठाउँतिर फोकस हुने उनले बताए ।
उनी भन्छन्, ‘नेपालमा इन्टरनेटका साथै मोबाइल बैकिङको प्रयोगकर्ताहरु बढिरहेका छन् । सोहीअनुरुप नै क्राइमका घटनाहरु पनि बढिरहेका छन् । साइबर अपराधका घटनाहरु प्राय जहाँ धेरै प्रयोगकर्ता छन्, त्यति फोकस हुन्छन् ।’
पहिलेपहिले बाहिरि मुलुकबाट मात्र साइबर क्राइम हुने गरेकोमा अहिले नेपालभित्रै साइबर क्राइमका घटनाहरु बढिरहेको साइबर लिम्बू बताउँछन् । साइबर अपराध पनि नेपालीहरु नै जोडिएको उनले बताए ।
नेपाल राष्ट्र बैंकको पेमेन्ट सर्भिस डिपार्टमेन्टका अनुसार २ करोड १६ लाख ९१ हजार ४७४ जना मोबाइल बैंकिङ सेवामा जोडिएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता जति बढे साइबर अपराधका घटना पनि उत्तिकै बढिरहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा साइबर अपराधका १३ हजार ३३० वटा घटना साइबर ब्यूरोमा दर्ता भएका छन् । त्यसमध्येमा ४० प्रतिशत घटना वित्तीय अपराधका रहेको लिम्बुले बताए । उनका अनुसार स्क्यामिङ, किप्ट्रोकरेन्सी, वालेट ह्याकलगायतका घटना धेरै छन् ।
यसमा उपभोक्ता (प्रयोगकर्ता) र संस्थागत (बैंक तथा वित्तीय संस्था) दुवै तर्फबाट साइबर अपराध हुने गरेका छन् । त्यसमा पनि उपभोक्तातर्फ हुने साइबर अपराधका घटना भयावह रहेको लिम्बुले बताए । उपभोक्ताहरु दिनहुँ साइबर क्राइमबाट ग्रसित भइरहेको उनी बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा नेपाल राष्ट्र बैंक अभिभावकको भूमिकामा भएकोले विशेष गरी वाणिज्य बैंकहरुलाई सुरक्षित मान्न सकिने उनको भनाइ छ ।
साइबर सुरक्षालाई लिएर अनेकौं प्रयासहरु गरी पनि यो क्षेत्र ह्याकरको निसानामा रहेको छ ।
नेपालमा विद्यमान साइबर सुरक्षाका चुनौतीहरु एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी कार्यान्वयनमा लैजान सक्ने क्षमता वाणिज्य बैंकहरूसँग मात्र रहेको छ ।
अन्य वित्तीय संस्थाहरु अझै स्ट्रगलकै फेजमा रहेको साइबर सुरक्षा विज्ञ लिम्बु बताउँछन् । नेपालमा साइबर अट्याक हुनसक्ने र साइबर अट्याक पश्चात हुनसक्ने नकारात्मक कुराहरू अझै बाँकी रहेको उनले बताए । उनले वित्तीय कारोबारमा नागरिक आफै सचेत रहनुपर्नेमा जोड दिए ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पनि डिजिटल कारोबारलाई सुरक्षित बनाउन राष्ट्र बैंकले धेरै प्रयासहरू गरे पनि चुनौतीहरु रहेको बताउँछन् । उनी भन्छन्, अहिले राष्ट्र बैंकले बैकिङ सिस्टममा हामीले कसरी डिजिटल माध्यम अथवा डिजिटल ट्रान्जेक्सनलाई ग्रुपअप गर्न सकिन्छ र कसरी सेक्यूअर गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकताका साथ राखेको छ ।’
नेपाल राष्ट्र बैंकले डिजिटल साक्षरता र वित्तीय साक्षरतालाई प्राथमिकता अगाडि बढाएको छ ।
जोखिममा फ्री वाइफाई
प्रायजसो सबैको बानी नै हुन्छ कतै फ्री वाइफाई देख्यो कि कनेक्ट गरिहाल्ने । तर यसो गर्नु जोखिम रहेको साइबर सुरक्षा विज्ञ लिम्बु बताउँछन् ।
फ्री पब्लिक वाइफाईमा साइबर अपराधका घटना बढी हुने भएकाले यसको प्रयोग नगर्न पनि उनी सुझाउँछन् । उनी भन्छन्, ‘वाइफाईको पनि दुईवटा अर्थ हुन्छ । एउटा फ्री पब्लिक वाइफाई र अर्को प्राइभेट पब्लिक वाइफाई । पल्बिकलाई फ्रीमा दिईएको वाइफाई जहिले पनि खतरनाक हुन्छ । फ्री पब्लिक वाइफाईमा कारोबारदेखि लिएर युजर र पासवर्ड समेत सजिलै पत्त लगाउन सकिन्छ । त्यसैले फ्री पब्लिक वाइफाई कहिले पनि प्रयोग नगर्नुस् । प्राइभेटमा पनि आफ्नो संस्था वा आफूले चिनेको सर्कलको मात्र वाइफाई मोबाइलमा कनेक्ट गर्नुहोस् ।’ पल्बिक वाइफाई पेमेन्टका लागि खतरा हुनसक्ने उनले बताए ।
रेस्टुरेन्ट, सपिङ मल तथा सार्वजनिक स्थलमा निःशुल्क वाइफाई तथा सोही स्थानको वाइफाई प्रयोग गरी भुक्तानी गर्नुको साटो मोबाइल डेटाको प्रयोग गर्नु सुरक्षित रहने लिम्बु बताउँछन् ।
साइबर सुरक्षा र वित्तीय साक्षरताको बारेमा बैंक तथा वित्तीय संस्थाहरूले मात्र नभएर सम्बन्धित पालिका स्वयमले पनि जानकारी दिनुपर्ने र यसैसँग सम्बन्धित कार्यक्रमहरू पनि गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् ।
पछिल्लो समय बैंकरहरूमाथि समेत साइबर अट्याक हुन थालेको छ । गभर्नरदेखि बैंकका सीईओहरूको ह्वाटसब बनाएर पैसा मागेको घटनाहरु समेत आउन थालिसकेको अवस्था छ । यस्तो अवस्थामा वित्तीय साक्षरता र डिजिटल साक्षरताको पहुँचमा नपुगेकाहरू साइबर अट्याकको जोखिममा कति छन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।







