काठमाडौं । केही दिन यता बैंकको नाम नै किटान गरेर फलानो बैंक डुब्दैछ भन्ने हल्ला यत्रतत्र फैलिएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक अभिव्यत्ति दिँदै हिँडेका विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंक डुब्दैछ भनेर नाम नै किटान गर्दै हिडिरहेका छन् । कुनै समय बैंकको ऋण नतिर्नु भनेर ऋणीलाई भड़काउँदै आएका उनै प्रसाईं फेरि अहिले बैंक डुब्दै छ भन्ने अफवाह फैलाउन हात धोएर लागि परेका छन् ।
प्रसाईं तिनै व्यक्ति हुन्, जसको विभिन्न बैंक तथा वित्तीय संस्थामा अर्बौं रुपैयाँ ऋण छ । विवादास्पद छवि बोकेका प्रसाईं बैंकको ऋण तिर्नुको सट्टा ऋणीहरूलाई समेत ऋण नतिर्न उक्साउदै ऋण नतिर्ने अभियाननै सञ्चालन गरेर हिँडेका छन् ।
प्रसाईंले ‘नागरिक बचाउ’ अभियाननै सञ्चालन गरेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गर्नुपर्ने भन्दै सोझा साझा नागरिकलाई उक्साएर दिनहुँ जसो आन्दोलन मात्रै गर्दै आएका छैनन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध गलत भाष्य निर्माण गर्न खोजेका छन् । प्रसाईंको अराजक शैलीले गर्दा कतिपय ऋणीमा वास्तवमै ऋण तिर्न नपर्ने हो कि भन्ने भ्रम पैदा भएर उनको वित्तीय अराजकताको पछि दौडिरहेका छन् । जसले गर्दा बैंकलाई बुझाउनुपर्ने ब्याज दिनप्रतिदिन बढीरहेको छ।
प्रसाईं आफैंले पनि आन्दोलन गरेकै भरमा ऋण तिरेका छैनन् । अझै भनौं उनले बैंक तथा वित्तीय संस्थालाई तर्साएकै भरमा समय समयमा बुझाउनुपर्ने ब्याजसम्म बुझाएका छैनन्। प्रसाईंले बैंकबाट ताकेता गर्न आउने कर्मचारीलाई तर्साउन कालो मोसो दस्ता नै खडा गरेका छन् । जसले गर्दा दुर्गा प्रसाईंमाथि लगानी गरिएको पब्लिकको पैसा डुबिरहेको छ।
सर्वसाधारणको अर्बौं रकम बैंक तथा वित्तीय संस्थामार्फत अपचलन गरिरहेका प्रसाईं अहिले उल्टै बैंक डुब्न लागेकोले निक्षेप निकाल्न भन्दै अफवाह फैलाउन थालेका छन् ।
देशभरका ऋणी जम्मा पारेर बैंकको ऋण आफू पनि ऋण नतिर्ने र अरुलाई पनि ऋण नतिर्न भन्दै हिँडेका प्रसाईं यतिखेर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेका छन् । बैंक लुटेरा हो भन्ने गलत मानसिकताको विकास गरिरहेका छन्। जसको कारण बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक संकटका बीच झनै संकट निम्त्याएको छ ।
बैंकबाट ऋण लिएपछि तिर्नु हरेक ऋणीको प्रमुख दायित्व हो । बैंकको ऋण तिर्दिनु भन्नु भनेको निक्षेपकर्तामाथि गरिएको अन्याय हो । आम सर्वसाधारणको सहजीकरण र सम्पती सुरक्षाका निमित्त बैंकले जनतबाट निक्षेप संकलन गर्छ र सोही निक्षेप आवश्यक पर्नेलाई केही प्रतिशत ब्याज लिएर कर्जाका रुपमा प्रवाह गर्छ । निक्षेप संकलन र कर्जा प्रवाहका बीच हुने ब्याजदरको अन्तर नै बैंक तथा वित्तीय संस्थाको नाफा हो ।
के प्रसाईंले भनेजति बैंकहरु डुब्छन् त ?
वित्तीय साक्षरताको अभावका आम मानिसलाई लाग्न सक्छ सहकारी डुबेझै बैंकहरु पनि डुब्छन् । तर, बैंकहरू भने हत्तपत्त डुब्दैनन् ।
किनकी,वाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, निर्देशन र नियन्त्रणमा चल्ने संस्था हुन् । बैंकमाथि राष्ट्र बैंकले नियमित रुपमा अनुगमन गरिरहेको हुन्छ । देखिएका कमी कमजोरी सुधार र समाधानका लागि निर्देशन दिने मात्र होइन नियम मिचेको खण्डमा आवश्यक कारबाही र करोडौं जरिवाना समेत गर्छ । जसका कारण बैंकले नियतबस गल्ती गर्न सक्दैनन् । राष्ट्र बैंकले आवश्यकताअनुसार वाणिज्य बैंकको संख्या थपघट गर्न सक्छ । राष्ट्र बैंकको नियम अनुरुप नचलेका अथवा संकटग्रस्त अवस्थामा पुगेका बैंकहरुलाई मर्ज गर्ने, टेकओभर गर्ने जस्ता काम गर्छ । जसका कारण सर्वसाधारणको लगानी डुब्ने खतरा रहदैन।
यद्यपि प्रसाईं जस्ता गलत सोच, खराब नियत र गलत भाष्य निमार्ण गर्न खोज्नेहरूको कुरालाई विश्वास गर्दा कहिलेकाही यसले बैंक तथा वित्तीय संस्थाहरुलाई चुनौती भने पक्कै थपिदिन्छ । समय-समयमा केहि अनावश्यक झमेला भने निम्त्याइरहेको हुन्छ ।
यसकारण डुब्दैनन् बैंक
• वाणिज्य बैंकहरुको पुँजी आधार ठूलो तथा फराकिलो हुन्छ ।
• नेपाल राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरिवेक्षण पर्याप्त मात्रामा गरेको हुन्छ ।
• वाणिज्य बैंकमा अन्तर्राष्ट्रिय बेस्ट प्राक्टिसहरु प्रयोग गरिएको छ ।
• बैंकमा Fin Tech प्रविधि अर्थात् वित्तीय प्रविधिको प्रयाप्त प्रयोग गरिएको छ ।
• सुशासनको आधारभूत सिद्धान्तहरुको पूर्ण कार्यन्वयन गरिएको छ ।
• वाणिज्य बैंकमा Assets क्वालिटीको स्तर अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेको हुन्छ ।
• वित्तीय ग्राहक सिद्धान्तको प्रावधानहरूलाई कार्यन्वयन गरिएको छ ।
• निक्षेपको आकार ठूलो तथा फराकिलो र न्यून लागतको रहेको हुन्छ ।
• रेगुलेटरी कम्प्लाइनसेसको पूर्ण पालाना गरिएको हुन्छ ।
• तरलता र नाफाको उपयुक्त सन्तुलन छ ।
किन आयो समस्या ?
पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या देखिएको छ। केहि आर्थिक परिसूचकले नेपालमा पनि आर्थिक मन्दी देखिएको अनुमान गर्न सकिन्छ ।जसको प्रभाव हरेक क्षेत्रमा परेको छ । रूस र युक्रेन युद्ध, कोभिड –१९ को महामारी र लकडाउन लगायत विभिन्न कारण थला परेको देशको अर्थतन्त्रमा पछिल्लो समय झिनो सुधारका आशा देखिएको छ। तर अझै परिणाममुखी र अपेक्षित नतिजा भने आएको देखिदैन।
आर्थिक संकटसँगै वित्तीय संस्थामा समेत यसको नकारात्मक असर पारेको छ । केही समययता सहकारी क्षेत्रमा देखिएको समस्याका कारण पनि आम सर्वसाधारणमा यसैगरी बैंक पनि डुब्छ कि ! भन्ने संका उत्पन्न भएको छ। यसैबीच बैंकको ऋण तिर्नुपर्ने दायित्वबाट जोगिन प्रसाईंले बलिरहेको आगोमा घिउ थप्ने काम गरिरहेका छन् । जुन सरासर गलत हो, वित्तिय आराजकता अनि अपराध हो । तर प्रसाईंको अराजकता र अफवाह फैलाएकै भरमा भने बैंक तथा वित्तीय संस्था नडुब्ने बैंकरहरु बताउँछन् ।
प्रसाईंमाथि किन हुँदैन कारबाही ?
झट्ट हेर्दा प्रसाईंले उठाएका मुद्दा आम नागरिकका समस्या हुन् । जस्तै बैंकको ब्याज न्यूनीकरण गर्नुपर्ने, ऋणी आनवस्यक तनाव दिन नहुने, धितो राखिएको सम्पति समय अगावै लिलाम गरिहाल्न नहुने जस्ता समस्या जायज लाग्छन् । तर बचतकर्ताको रकमनै डुब्ने गरि ऋण लिएर नतिर्नका लागि ऋणीलाई उक्साउदै हिड्ने,गलत भाष्य प्रवृत्ति निमार्ण हुनेगरि अभिव्यक्ति दिने र कर्तव्य पालना गरिरहेकाहरुमाथि कालो मोसो दल्नेजस्ता आराजक र अवान्छित गतिविधि न्यायोचित र नियमसंगत छैनन्।
प्रसाईंमाथि कारबाहीको लागि बैंकर एसोसियसन देखि संसदमा समेत माग उठिसकेको छ । तर सिंगो बैंकिङ प्रणालीमाथि नै धावा बोल्दै हिड्ने दुर्गा प्रसाईंलाई राज्यले अझैसम्म कानूनी दायरामा ल्याउन सकिरहेको छैन। प्रसाईले सार्वजनिक कार्यक्रममै खुलेआम महिलामाथि तल्लो स्तरका शब्द प्रयोग गर्ने, जसलाई मन लाग्छ उसैलाई गालिगलौज गर्ने, आफ्नो स्वार्थपूर्तिका लागि अनुचित प्रभावमा पारेर आम नागरिकको बाध्यता र भावनामाथि खेल्ने र अनपेक्षित आसा देखाउने जस्ता गैरकानुनी क्रियाकलाप गरिरहेका छन्। तर नेपाल सरकार र सरोकारवाला निकायहरु उनका गलत हर्कतलाई टुलुटुलु हेरेर मुकदर्शक बनिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाका ऋण नतिर्न अनेकन प्रपन्च गरिरहेका प्रसाईंलाई आखिर कसले संरक्षण गरिरहेको छ ? उनलाई कारबाही गर्न कसले रोक्यो ? प्रसाईंका ‘अवान्छित गतिविधि’ र ‘गुमनाम राज्य’ यतिबेला आम चासोको बिषय बनेको छ।







