काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका छन् । बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय वाणिज्य बैंकले ऐतिहासिक रुपमा सरकारलाई लाभांश दिन सक्षम भएको जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७५/७६ देखि आरबीबीले सरकारलाई नियमित लाभांश दिइरहेको बताएका हुन् । २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वमित्वमा स्थापना भएको आरबीबी देशकै अग्रणी बैकहरुमा दरिएको र आम नेपाली नागरिकहरुलाई बैंकिङ शिक्षा दिने बैंक नै राष्ट्रिय वाणिज्य बैंक नै रहेको धारणा राखे ।
उनको वक्तव्य जस्ताको त्यस्तै
सर्वप्रथम म यस बैंकले ५९ वर्ष पुरा गरी ५९औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित आजको यस वार्षिकोत्सव समारोहमा यहाँहरु सबैप्रति बैंकको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पदार्पण गर्दैगर्दा अर्थतन्त्र एवं समग्र बैंकिंग क्षेत्रमा आशाका संकेतहरु देखिन थालेका छन् । बैंकिंग क्षेत्रमा निक्षेपको वृद्धि सन्तोषजनक रहेको, तरलताको अवस्था सहज बन्दै गरेको साथै व्याजदर घट्दो क्रममा रहेकोले कर्जा विस्तारको संभावना प्रबल बन्दैगईरहेको छ । सन् २०२३ को डिसेम्बर सम्ममा वाह्य पर्यटकहरुको आगमन उल्लेख्य वृद्धि भएको प्रकाशित आंकडाहरुले देखाएका छन् । यसबाट पर्यटन क्षेत्रमा आय आर्जन, रोजगारी एवं आर्थिक गतिविधिहरु वृद्धि भएसंगै बैंकहरुले यस क्षेत्रमा गर्ने लगानीको संभावना बढ्दै गएको छ ।
त्यसैगरी अर्थतन्त्रको वाह्य क्षेत्रका प्रमुख चरहरु जस्तै विप्रेषण आप्रवाह एवं बाह्य पर्यटकहरुको वृद्धिसंगै अर्थतन्त्र थप गतिशीलभई सकारात्मक दिशामा अगाडि बढ्ने अपेक्षा मौद्रिक नीतिको समीक्षामा उल्लेखित रहेको छ । अर्कोतर्फ आन्तरिक आर्थिक गतिविधिलाई बैंकिंग क्षेत्रमार्फत थप सबल बनाउन नेपाल राष्ट्र बैंकले चालु पुजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप लचिलो बनाएको, आवासीय घर कर्जाको सीमा वृद्धि गरेको, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने विस्तारकारी नीतिगत व्यवस्थाका कारण बैंकिंग क्षेत्रबाट कर्जा प्रवाह क्रमश वृद्धिहुदै जाने अपेक्षा गर्न सकिन्छ । त्यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा केही समय अघि गएको भुकम्पबाट प्रभावित सरचनाहरुको पुर्ननिर्माणमा जोड दिन सकेमा यसबाट आर्थिक गतिविधि थप चलायमानहुने देखिन्छ । यी नीतिगत एवं कार्यगत व्यवस्थाहरुको सकारात्मक प्रभाव मार्फत अर्थतन्त्र थप चलायमान हुने एवं बैंकको समग्र व्यवसाय विस्तार भई बैंकिंग क्षेत्रका महत्वपुर्ण सुचकहरु जस्तै निक्षेप, कर्जा, नाफा एवं घट्दो खराब कर्जा अनुपात आदि सवल बन्ने आशा जगाएको छ ।
आजको यो विशेष दिनमा अब म बैंकको गरिमामय इंतिहासको बारेमा केही कुरा राख्न चाहन्छु । आज भन्दा ५८ वर्ष अघि आजकै दिन वि.स. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वमित्वमा स्थापना भएको यस बैंकले अनगिन्ति उतार चढावहरु पार गर्दै आजको दिन सम्म आईपुगेको छ । देशकै अग्रणी बैकहरु मध्येको एक बैंकको रुपमा छवि बनाएको यस बैंकले नेपालका नागरिकहरुलाई बैंकिङ्ग बानी सिकाउने देखि लिएर देशको अर्थतन्त्र उकास्ने सम्मको योगदानहरु पुर्याउँदै आएको छ ।
यस बैंकको स्थापनाको उद्देश्यहरूमा बैंकिङ क्षेत्रमा कारोबार विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई उकास्ने, वित्तीय सेवा-सुविधा उपलब्ध गराउने, देशको वित्तीय स्रोत परिचालन गर्ने, राजस्व संकलन र व्यापार तथा वाणिज्यलाई सहजिकरण गरी आर्थिक वृद्धि एवम् विकासमा टेवा पुर्याउने हो । यी उदश्यहरु बैंकले हरेक पाइलामा पुरा गर्दै आएको छ। झण्डै ६ दशकको इतिहासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खाले चुनौतीको सामना गर्दै आएको छ। कुनै वेला अस्तित्वकै संकटको अवस्थामा समेत पुगको कुरा हाम्रासामु विदितै छ। नेपाल सरकार, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहकार्यमा सुरुवात गरिएको वित्तीय सुधार कार्यक्रम पश्चात् क्रमिक रुपमा ती तनावपुर्ण समय पार गरी आजको अवस्थासम्म आइपुगेका छौ ।
वित्तीय क्षेत्र सुधार कार्यक्रमको परिणाम स्वरुप बैंकमा सुदृढ सस्थागत सुशासन, सुदृढ बैंक सञ्चालन प्रणाली, खराब कर्जाको उचित व्यवस्थापन, रणनीतिक श्रोत व्यवस्थापन, कर्मचारीको उचित व्यवस्थापन तथा ग्राहक सेवाको लागि समर्पण भाव भएकै कारण बैंकले देशको बैंकिङ क्षेत्रलाई थप सबल बनाउँदै आजको उचाईसम्म पुग्न सफल भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई पब्लिक लिमिटेड कम्पनी बनाउने नीति अनुसार वि.सं. २०६३ बैशाख ६ गते यस बैंकलाई लिमिटेड कम्पनीका रुपमा दर्ता गरिएएको थियो। हाल कम्पनी ऐन अनुसार सञ्चालन हुदै आएको छ । २०७५ वैशाख गते एनआईडीसी डेभेलपमेन्ट बैंक यस बैंकसँग गाभिई एकिकृत कारोबार सुरु भएको छ ।
बैंकले पछिल्ला केही वर्षहरूमा विभिन्न सुधारात्मक कार्यहरू गरेको छ । बैंकले अधिकतम श्रोत परिचालन र व्यवसाय विस्तारमा जोड दिदै आईरहेको छ । बैंकको शाखा सञ्जाललाई विस्तार गरी देशका ७ वटै प्रदेश र ७७ वटै जिल्ला र जिल्ला सदरमुकाम सम्म पुन्याइएको छ । बैंकले ‘क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेशन’को नारासहित संस्थाभित्रको संगठनात्मक संरचना, कर्मचारी आचरण, संस्थागत सुशासन, ग्राहक सेवा, सूचना प्रविधिको स्तरोउन्नति, पूँजी वृद्धि, भौतिक पूर्वाधार, बैंकको मार्केटिङ र रि-ब्रान्डिङ, खराब कर्जा व्यवस्थापन, नयाँ कर्मचारी भर्ना, उत्पादकत्व वृद्धि, कम्प्लायन्स तथा जोखिम व्यवस्थापन जस्ता पक्षहरूमा सुधारका कामहरू गरेको अवस्था छ ।
फलस्वरूप, बैंक आ.व. २०७४/७५, २०७५/७६, २०७६/७७ तथा २०७८/७९ मा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक र २०७४/७५ मा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बन्न सफल भयो। बैंकले सम्भवतः इतिहासमै पहिलो पटक आर्थिक वर्ष २०७५/७६ देखि सरकारलाई लाभांश दिन पनि सक्षम भएको छ र यस परिपाटीलाई पनि निरन्तरता दिन बैंक सफल भएको छ ।







