पोखरा — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा आवश्यक तयारी पूरा भएको छ।
प्रदेशभर १ हजार २ सय ९७ मतदान स्थलअन्तर्गत २ हजार ३ सय ९६ मतदान केन्द्रमा मतदान हुने भएको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्न कुल २१ हजार ४ सय १५ जना जनशक्ति परिचालन गरिएको छ।
तीमध्ये १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक छन्।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूले मतपत्रसहित निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्।
हिमाली जिल्ला मुस्ताङ र मनाङका उच्च भू–भागका केही केन्द्रमा हिमपातका कारण चुनौती देखिए पनि मौसममा सुधार आएसँगै मतदान निर्धारित स्थलमै गराउने तयारी गरिएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता तथा मनाङको नारफू गाउँपालिकाका नार र फू गाउँमा कर्मचारी पुग्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथिका केन्द्रमा खटिने कर्मचारीका लागि लेक लाग्ने जोखिमलाई ध्यानमा राखी आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थासमेत गरिएको छ।
सुरक्षातर्फ तीन तहको प्रबन्ध मिलाइएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार मतदान केन्द्रको संवेदनशीलता हेरी भित्री घेरामा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी परिचालन गरिनेछ।
दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ रहनेछन्।
प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्।
यसबाहेक २१ हजार ६ सय ९३ अस्थायी मतदाताका लागि १७ अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।
प्रदेशका ११ जिल्लामा रहेका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्रसहित कुल २ सय ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।






