चितवन। निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् ।
निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् । सडकको गोन्द्राङदेखि चौबिस कोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ ।
महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मूख्य सडक, मुग्लिन- नारायणगढ सडक, नारायणगढ-पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ ।
निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाईल पठाईएको उनले जानकारी दिए । फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेलको भनाई छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडकको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
यस्तै लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भईरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर) पहिलो चरणको कालोपत्रे भईसक्ने म्यानेर ढुङ्गानाले बताए । २०७७ साल माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रकृयामा छ ।







