उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको बताइएको छ।
उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन्। ‘अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।
यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन्। कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन्।
उनले आफू काठमाडौं अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन्।
क्रिकेटर लामिछानेलाई मंगलबार ८ वर्ष कैद सजाय तोकिएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले ८ वर्ष कैद सजाय तोकेको हो। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताए।







