एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय हो । सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकका लागि निर्वाचन गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
बैंकले गत आर्थिक वर्षका लागि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेका थिए ।
यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकले लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको छ । केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत भएकभो जानकारी पठाएपछि बैंकले लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको हो ।