बम्जनको हातमा हत्कडी, पूर्वमन्त्री भन्छिन् – उहाँ भगवान हो

काठमाडौं । ‘तपस्वी’ भनिने रामबहादुर बम्जनलाई आज प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेसँगै प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीको कार्यालयमा उनका अनुयायीहरूको बाक्लो उपस्थिति देखिएको छ । हत्या, अपहरण र बलात्कारको आरोपमा बम्जनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरिएकोमा आज सार्वजनिक गरिएको हो।

उनी पक्राउ परेसँगै पक्ष र विपक्षमा अनेक बहस हुन थालेका छन् । यसैबीच, पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जन आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउन प्रहरीसँग माग गरिन् ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत बम्जनलाई गरिरहँदा उनी भनिरहेकी थिइन्, ‘उहाँ त हाम्रो भगवान हो । हत्कडी लगाउन पाइँदैन ।’

लामाले बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजान पाउनुपर्ने भन्नसम्म भ्याइन् । पूर्वमन्त्रीले नै यसो भनिरहँदा त्यहाँ वरपर रहेका मान्छेहरु अचम्म परेर हेरिरहेका थिए ।

उनी बिहानै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन् । बुढानीलकण्ठस्थित आफ्नै निवासबाट मंगलबार बेलुकी बम्जनलाई सीआईबीको टोलीले पक्राउ गरेर महाराजगन्ज ल्याएको थियो । अदालतबाट म्याद थपेर बम्जनलाई आजै सर्लाही लैजाने सीआईबीले बताएको छ ।

प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँसमेत बरामद गरेको छ। उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको हो। प्रहरीले १७ देशका मुद्रा र तीन करोड बढी रकमसहित सार्वजनिक गरेको छ। बरामद नगद ५ सय र १ हजार दरका छन्। सीआईबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *