काठमाडाैं । नेपाली नागरिकलाई नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका क्यासिनो गतिविधि सूक्ष्म रुपमा निगरानी गरेर यस्तो तथ्य भेटाएको हो।
प्रहरीले यस क्रममा नक्कली भारतीय आधार कार्ड बनाइदिने गिरोहका तीन जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, चिसंखुगढी गाउँपालिका–८ रातोमाटे, ओखढुंगा घर भई ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नविन राई र तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौँको तारकेश्वरमा बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेको प्रहरीले जनाएको छ।




