काठमाडाैँ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदहरूमा पदपूर्ति गर्न लागेको हो।
कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) पदमा एक जना माग गरिएको छ।
त्यस्तै, आठौँ तहमा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत गरी तीन जनाका लागि आवेदन खुलाइएको छ।यसैगरी, सातौँ तहमा टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन) तीन जना, कम्प्युटरतर्फ १० जना र इलेक्ट्रिकलतर्फ तीन जना माग गरिएको छ।
यता, छैटौँ तहमा सहायक प्रशासनिक अधिकृत नौ, सहायक व्यापार अधिकृत आठ र सहायक लेखा अधिकृत दुई जनाका लागि दरखास्त मागिएको छ।
पाँचौँ तहमा तीन जना ओभरसियर, चौथो तहमा टेलिकम टेक्निसियन नौ र सहायक १७ जना तथा तेस्रो तहमा १२ जना कनिष्ठ प्राविधिकका लागि आवेदन माग गरिएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्।
कम्पनीका अनुसार नियमित दस्तुरमा आगामी मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।





