आर्थिक सशक्तिकरणले मात्रै महिलालाई आत्मनिर्भर : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलालाई आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्ने बताएकी छन् । आर्थिक अधिकारका सवालमा महिलाले निर्णायक भूमिका नपाएसम्म आत्मनिर्भर हुन निकै गाह्रो भएको उनको भनाइ छ ।

काठमाडौंमा सोमबार आयोजित महिलाविरुद्धका हिंसालाई रोक्न लगानी विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सबलीकरणको माध्यमले महिला सशक्तिकरण सहज हुने बताइन । अझै धेरै नेपाली महिलालाई आफ्नो अधिकार नै थाहा नभएको भन्दै उनले आत्मनिर्भर बनाउन आर्थिक सशक्तिकरणको विकल्प नभएकोमा जोड दिइन ।

‘कति महिलाहरुलाई आफ्नो अधिकार नै थाहा छैन, जनचेतना छैन । त्यसैले महिलालाई एकदमै आत्मनिर्भर बनाउनका लागि आर्थिक सशक्तिकरणमा जोड्नुपर्छ,’ उनले भनिन्, ‘अहिले सम्पत्तिमा महिला अधिकारका कुरा आएको छ, त्यो पनि महिलाको नाममा छैन ।’

महिलालाई निर्णायक भूमिकामा ल्याउन आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘मलाई चाहिँ यस्तो लाग्छ हामी निर्णायक भूमिकामा छैनौं । पहुँच छैन । त्यसैले गर्दा कतिपय चित्त नबुझेका कुराहरु पनि कमजोरी भएकै कारण हुन्छ हुन्छ भन्नु पर्ने अवस्था आउँछ । त्यसैले महिलाहरु निर्णायक भूमिका र पहुँचमा आउनुपर्छ ।’

उपसभामुख रानाले जलवायु परिवर्तनका असरबाट पनि नेपालका महिला पीडित भएको बताइन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *