


काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ ।
आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।
सर्वसाधारणले बुक बिल्डिङबाट खुल्ने आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । बाँडफाँटका क्रममा पनि एक व्यक्तिले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ ।

अर्थ सन्जाल