काठमाडौं । नेपाल सरकारले टिकटक बन्द गरेपछि सर्वत्र विरोध र चर्को आलोचना भइरहेकै बेला मंगलबार टिकटक जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भयो । नेपाली युवाहरुकै लगानीमा बनेको यो एप सार्वजनिक भएसँगै धेरैले चाँसोका साथ उक्त एप आफ्नो मोबाइलमा डाउनलोड पनि गरे ।
नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप सर्भरमा समस्या देखिएपछि चलन भने सकेन । एप नचलेपछि कतिपयले आफ्नो मोबाइलबाट एप अनइन्स्टल पनि गरे ।
यसो हुँदा कतिपय प्रयोकर्ताहरुले चाडै नचल्ने एप किन ? भन्दै प्रश्न पनि गर्न भ्याए । धेरै जनाले नचलेको गुनासो गरेपछि हामीले पनि रमाइलो एप डाउनलोड गरेर हेर्यौं । चलेन । अनि यहिँ विषयमा कम्पनीसँग कुरा गर्यौँ । कम्पनीले सर्भरमा समस्या देखिएको जानकारी गरायो ।
ओभर ट्राफिकका कारण सर्भरमा समस्या देखिँदा एप पूर्ण रुपमा चलन नसकेको कम्पनीका कम्युनिकेसन म्यानेजर रवि मुक्तानले बताए । उनका अनुसार समस्या समाधानको प्रयास भइरहेको र केही दिनमै एप पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
अहिले यस एपलाई हाल गुगल प्लेस्टोरमा मात्रै उपलब्ध छ । केही दिनमै आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने गरी व्यवस्था गरिने कम्पनीले जनाएको छ। एण्ड्रोइड मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।
उक्त एपमा टिकटकमा जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना समेत कम्पनीको छ।
पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडिओ अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो। नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रूचाउने अपेक्षा कम्पनीको छ।
टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ।







