नि:शुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । नि:शुल्क रुपमा उपलब्ध हुने भीपीएन जोखिमपूर्ण रहेको भन्दै यसलाई नचलाउन आग्रह गरेको हो ।

अघिल्लो साता सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटक बन्द गर्ने घोषणा गरेयता भीपीएनको प्रयोग अत्यधिक बढेको छ । ‘इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश नि:शुल्क भीपीएनहरूमा डाटाको सुरक्षा तथा गोपनीयतासँग सम्बन्धित कमजोरीहरू रहेको अध्ययनहरूले देखाएका छन्,’ प्राधिकरणले एक सूचना जारी गर्दै भनेको छ, ‘फ्री भीपीएनको प्रयोग गर्दा विभिन्न जोखिमहरू हुने भएकोले फ्री भीपीएन प्रयोग नगरौं/नगराऔं ।’ फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्ताका अनलाइन गतिविधि अनाधिकृत रूपमा निगरानी गर्ने सम्भावना रहनुका साथै त्यस्ता भीपीएनमार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने सूचनामा उल्लेख छ ।

फ्री भीपीएनका माध्यमबाट प्रयोगकर्ताका कम्प्युटर/मोबाइल डिभाइसमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्‍याउने सम्भावना रहनेबारे प्राधिकरणले सर्तक हुन अनुरोध गरेको छ । त्यति मात्र नभएर, फ्री भीपीएन प्रयोग गर्दा ह्याकिङको निसानमा पर्ने सम्भावना पनि बढी रहने भएकाले प्रयोग नगर्न भनिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *