वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समयमै वित्तीय विवरण पेस नगरेका ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बोर्डले समयमै वित्तीय विवरण पेस नगरेका ८९ कम्पनीहरुलाई पत्र काटेर स्पष्टीकरण सोधेको हो । १५ दिनभित्र चित्तबुझ्दो जबाफ नपठाउने कम्पनीहरुमाथि नियमअनुसार कारबाही गरिने बोर्डले जनाएको छ ।

यसअघि सेबोनले गत साउन ११ मा एक सूचना जारी गर्दै समयमै वित्तीय विवरण पेस गर्न सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको थियो। समयमै वित्तीय विवरण पेस नगर्नेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ अनुसार कारबाही र जरिवाना गर्ने चेतावानी पनि दिएको थियो।

त्यसपछि बोर्डले गत असोज २ गते एक सूचना जारी गर्दै कम्पनीहरुले वित्तीय विवरण बुझाएको अवस्थाबारे जानकारी गराएको थियो । जसमा २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन बाँकी रहेको र ६४ वटाले ढिला गरी बुझाएको बोर्डले जानकारी गराएको थियो।

संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र सेबोनसमक्ष पेस गर्ने र त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

धितोपत्रसम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पसे नगर्ने र ऐनअन्तर्गत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *