काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै गत सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको हो । अब कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ । बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको हो ।
संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश रिमाललाई नियुक्त गरेको छ । यसअघि नायब महाप्रबन्धक रहेका रिमाललाई कम्पनीको पहिलो बैठकले कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदको कात्तिक १६ गतेको बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय गरेको थियो ।