बैंकहरुमा चरम तरलता अभाव: निक्षेप जोगाउनै मुश्किल

बैंक तथा वित्तीय संस्थाहरुमा चरम तरलता अभावका कारण आफुसँग भएको निक्षेप जोगाउनै मुश्किल परेको छ । बैंकहरुमा लगानी योग्य रकम (तरलता)को संकट परेपछि कम ब्याज दिने बैंकहरुलाई निक्षेप जोगाउनै मुश्किल परेको हो ।

तरलता अभावले गर्दा यतिखेर बैंकहरु भोकाएका छन् र एक अर्काको निक्षेप खोसाखोसमा लागेका छन् । एउटाको निक्षेप तान्ने र आफ्नो निक्षेप बढाउने लक्ष्य लिएका केहि बैंकहरुले अहिलेसम्मकै उच्च ब्याजदर घोषणा गरेका छन् ।

निक्षेप बढाउने रणानीति अनुसार हिमालयन बैंकले सर्वाधिक ११ दशमलव ६६ प्रतिशत ब्याजदर घोषणा गरेको छ भने एनआईसी एशिया बैंकले पनि हिमालयकै हाराहारीमा ब्याजदर सार्वजनिक गरेको छ ।

हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत झण्डै आधा दर्जन बढी बैंकहरुले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याएका छन् । यसबाट निक्षेपमा कम ब्याज दिइरहेका बैंकहरु त्रसित बनेका छन् । जसका कारण ठूला निक्षेपकर्तालाई जोगाईराख्न ब्याजदर बढाउनुपर्ने बाध्यता छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार संस्थागत निक्षेप जोगाउन र आकर्षित गर्नका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका हुन् । तरलता अभावका कारण समस्या भएको भन्दै क्षेत्रीले यस्तो अवस्था लामो समयसम्म नरहने बताए । उनले भने– ‘मुद्दती निक्षेपको ब्याजदरमा मात्रै होड चलेको हो, बचतको ब्याजदर अहिले पनि कम नै छ ।’

अहिले बैंकहरुमा तरलता अभाव हुँदा बैंकहरु अलिक अप्ठेरो परिस्थितिमा देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा तरलता अभवा हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरु मार्फत समयसमयमा पैसा पठाउने गरेको छ ।

दशैं अघिमात्रै पनि पटकपटक गरेर करिब एक खर्ब रुपैंयाँ राष्ट्र बैंकले रिपोमार्फत पठाएको थियो । तर, बैंकहरुले रिपोमा त्यतिधेरै चासो नदेखाएको पूर्व गभर्नर क्षेत्री बताउँछन् । अहिले देखिएको समस्या समाधानका लागि केन्द्रीय बैंकले केही न केही भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको ब्याजदर ११.५ प्रतिशत माथि छ । ११.५ प्रतिशत माथि निक्षेपको ब्याजदर भएका बैंकहरुले लिने ब्याजदर र दिने ब्याजदर बिचको अन्तर (स्प्रेड रेट) ४ प्रतिशतमात्रै राख्दा पनि करिब १७ प्रतिशत हाराहारीमा हुन आउँछ । यसरी निक्षेपको ब्याजदर बढाएपछि बैंकहरुको लागत खर्च बढ्ने भइहाल्यो । लागत बढ्दा यसको असर आधार दरमा पर्छ ।

अहिले नै कतिपय बैंकहरुको आधार दर ११ प्रतिशत हारहारीमा छ । आधार दरमा ५ प्रतिशत प्रिमियम जोड्दा पनि बैंकको ऋणको ब्याजदर १६ प्रतिशतसम्म पुगिहाल्छ । यो भनेको अत्यधिक महंगो ब्याजदर हो । यसले उद्योग व्यवसायको लागत बढ्छ र त्यसको मार उपभोक्तासम्म पर्छ । यसले मूल्यवृद्धि बढाउँछ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा यही अवस्था रहे वित्तीय क्षेत्र थप समस्यामा पर्नसक्ने बताउँछन् । यसलाई सबै मिलेर सहज रुपमा समस्या सुल्झ्याउनु पर्ने उनको भनाइ छ ।

बैंकहरुकै हानाथापका कारण निक्षेपको ब्याजदर बढाउँदा नयाँ निक्षेप भन्दा पनि बैंकहरुमा भएकै निक्षेप एकबाट अर्कोमा पुग्ने गरेको बैंकरहरु नै बताउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *