नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र ब्याजदर परिवर्तन गर्नुपर्ने ३ बुँदे निर्देशन पत्र सार्वजनिक गरेको हो ।
निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बजारमा तरलता अभाव भएकोभन्दै बजारबाट निक्षेप तानातान गर्न थालेपपछि राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ब्याजदर घटाउन भनेको हो । बैंकहरुले निक्षेप तानातानमा मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा माथि ब्याजदर पुर्याएका छन् ।
आइतबार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए । यसबाहेक अन्य ९ वटा बैंकले ब्याज १० प्रतिशतमाथि पुर्याएका थिए ।