दशैं लाग्यो तर बजारमा कतै पाइन्न चिनी,कसले कहाँ लुकायो ?

काठमाडौं । चिनीको धेरै बिक्री हुने समय नै दशैं-तिहार हो।दशैं लाग्यो तर, बजारमा चिनी नै छैन । चियादेखि मिठाई र अरू परिकार बनाउन चाहिने चिनी नपाउँदा सर्वसाधारण तनावमा छन् । अलिअलि पाइए पनि यति महँगो छ कि, जिब्रै टोक्नुपर्छ। पोहोर प्रतिकिलो १ सयमा पाइन्थ्यो । आजभोलि १ सय ४० भन्दा माथि छ ।

महँगोमा किन्न खोज्दा पनि भने जति पाउने अवस्था छैन। चिनीको चरम अभावले यसपालिको दशैं कतै खल्लो त हुने होइन ? भन्ने सर्वसाधारणको चिन्ता छ ।

त्यसो भए, बजारमा चिनीको अभाव किन भयो त ? व्यापारीहरू भन्छन्– ‘२०–२५ दिनदेखि बजारमा चिनी नै उपलब्ध छैन। भारतबाट चिनी आएकै छैन । स्वदेशी उत्पादनले बजार धान्दैन ।’ उपभोक्ता अधिकारवादीहरू भने चिनीको कालोबजारी भइरहेको आरोप लगाउँछन् । बजारमा जोसँग अलिअलि छ, उनीहरूले पनि वीरगञ्जबाट महँगोमै किनेर ल्याएको बताउँछन् । किन्दै महँगो परेकाले बेच्दा झनै महँगो भएको व्यापारीहरूको तर्क छ । अर्कोतिर, चिनीको अभाव नटरे चिनीमा आधारित उद्योगहरूसमेत धराशायी हुने अवस्था छ ।

ठूला चाडबाडका बेला चिनीको खपत बढी हुन्छ नै । दशैं, तिहार, छठलगायतमा चाडबाडमा मिठाईका परिकार बनाउन पनि चिनीको अत्याधिक प्रयोग हुन्छ । एकातिर चिनी अभाव, अर्कोतर्फ महँगोमा किन्नुपर्ने बाध्यताले मिठाईलगायतका सामान पनि महँगो हुने देखिन्छ । होलसेल र डिलरले खुद्रा पसलेलाई चिनी दिन बन्द गरेका छन् । २५ दिनदेखि चिनी नपाएको गुनासो गर्छन् नयाँ नैकापस्थित किराना पसले श्याम महर्जन। उनको पसलमा मात्र होइन, वरिवरिका अन्य किराना पसलमा पनि चिनी छैन ।

चाडपर्व आयो कि ठूला व्यापारीले केही न केही वस्तु अभाव देखाउने गरेको महर्जन बताउँछन् । ‘डिलरवालाहरूले प्रतिकिलो १ सय ४० रुपैयाँभन्दा पनि बढी पुग्छ भनेर ५० केजीको बोरालाई ७ हजार पर्छ भन्छन्,’ महर्जनले भने, ‘त्यतिमा भए पनि किन्छौंभन्दा डिलरले छैन भन्छन् ।’ ठूला व्यापारीले भाउ बढाउन चिनी लुकाएको हुनसक्ने उनको आशंका छ । ‘नत्र जहिल्यै पनि चाडपर्वकै बेला कहिले तेल, कहिले प्याज त कहिले चिनीको अभाव किन हुन्छ ?,’ उनको प्रश्न छ, ‘हरेक चाडबाडका बेला केही न केही अभाव गराएकै हुन्छ ।’

चाडपर्वमा ग्राहकहरूले उपभोग्य सामानको धेरै खोजी गर्ने बेला बेच्नै नपाएकोमा उनको गुनासो छ । ‘सरकारले पनि यसमा चासै दिएन,’ उनले भने, ‘नत्र यति लामो सयसम्म किन यस्तो अभाव हुन्थ्यो र ।’

अर्का किराना व्यवसायी विराज ठकुराठी पनि काठमाडौंमा चिनी नै नपाएर वीरगन्जबाट महँगोमा मगाएको बताउँछन् । त्यसैकारण प्रतिकिलो १४० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ । ‘एक त काठमाडौंमा चिनी पाइएन । अर्कोतिर ५० केजी बोराकै ८–९ हजारसम्म पुग्छ रे भन्ने हल्ला छ,’ उनले भने, ‘चाडबाडका बेला पसल थापेर मात्रै भएन । चिनी नहुँदा चिया पनि खान पाइएन भन्ने ग्राहकको गुनासो आउन थाल्यो । त्यसैकारण वीरगञ्जदेखि महँगोमा भाडा तिरेर सामान मगाए।’ यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *