दसैँका लागि ५० हजार खसीबोका, आजदेखि उपत्यका भित्रिँदै

काठमाडौं । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ। उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ ।

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ । गैरकानुनी तवरबाट व्यापारीले भारतबाट खसीबोका ल्याउने गरेको थापाको भनाइ छ ।

दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *