काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बीपी राजमार्गको यातायात अनिश्चितकालका लागि ठप्प भएको छ।
रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बगाएपछि सडक सञ्चालनमा समस्या भएको हो। वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा पहिरो र लेदो थुप्रिएको छ।
कतिपय स्थानमा सडक संरचनामै क्षति पुगेकाले तत्काल यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको सम्बन्धित निकायले जनाएको छ। डाइभर्सन बगाएपछि राजमार्गको अवरुद्ध खण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ।
पहिरो र लेदो पन्छाउने तथा सडक मर्मतको काम मौसममा सुधार आएपछि मात्र अघि बढाउन सकिने अवस्था रहेको जनाइएको छ। सडकमा थप पहिरो खस्ने र बाढी आउने जोखिम कायमै रहेकाले प्रशासनले अर्को सूचना जारी नभएसम्म बीपी राजमार्ग भएर यात्रा नगर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।
लगातारको वर्षाका कारण सडक खुलाउने काममा समेत कठिनाइ भएको छ। मौसममा सुधार आएपछि क्षतिको विस्तृत मूल्यांकन गरी सडक सञ्चालनका लागि आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थाको काम अघि बढाइने जनाइएको छ।




