काठमाडौं । हरेक वर्ष दसैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ ।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन् ।
चाडपर्वमा राजधानीबाट लाखौंको सङ्ख्यामा मानिसहरु बाहिरिने गरेका छन् । यसपालि पनि करिब १८ लाख यात्रुले काठमाडौं छोड्ने अनुमान गरिएकाे छ । अग्रिम टिकट बुकिङ खुलेसँगै देशभरका यातायात टिकट काउन्टरमा भिडमाड देखिन थालेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।
यो पटक काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट मात्रै लामो दूरीमा चल्ने सवारीको टिकट काट्न पाउने निर्णय गरेपछि यात्रु गोंगबु नै पुग्नुपर्ने भएको छ ।
यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । तर, यातायात मन्त्रालयमा भएका छलफलमा यातायात व्यवसायी भाडा वृद्धिको मागबाट पछि हटेका हुन् ।







