काठमाडौं । काठमाडौं महानगरपालिकाकाले तीन वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेको छ । महानगर प्रमुख बालेन शाहले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत वार्षिक १५ हजारलाई सीपमूलक तालिम दिने र कम्तिमा पाँच हजार नयाँ रोजगार सृजना गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गर्दै प्रमुख शाहले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ भने त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने छ ।
काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ । महानगर प्रमुख शाहले भने, ‘तालिमप्राप्त जनशक्तिलाई महानगर क्षेत्रभित्र रहेका पूर्वाधार विकास, वातावरण विकास, सरसफाइ जस्ता विभिन्न कार्यमा लगाउन सक्छौं । अन्य सरकारी तथा निजी संघसंस्थामा आवद्ध गराउन सक्छौं ।’
श्रम बैंकमा दक्ष, अदक्ष र अर्धदक्ष सबैलाई समेटेर जब पोर्टल बनाउन खोजिएको शाहले जानकारी दिए । यसमा निजी संघसंस्था पनि आवद्ध हुन सक्नेछन् ।




