काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनद्वारा अघि बढाइएको बीआरआई परियोजना योजनावद्व रुपमा कार्यान्वयन गरिने बताएका छन् ।
बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आइतबार राजधानीमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो परियोजना कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । तर, परियोजनाका केही अप्ठ्यारा नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले यसका लागि छिमेकी चीन तयार हुनुपर्ने उनले बताए ।
‘सन् २०१३ मा मेरै पालामा बीआरआई कार्यक्रमको सुरुवात भएको हो । यश परियोजनाले १० वर्ष पूरा गर्दै गर्दा पुनः म मुलुकको नेतृत्वमा छु । यो परियोजना कार्यान्वयनमा हामी कटिबद्ध छौँ’ प्रधानमन्त्री प्रचण्डले भने,’नेपालको विकास निर्माणका लागि तीव्र लगानी आवश्यक छ । त्यसका लागि बीआरआई हाम्रा लागि अवसर पनि हो ।’
परियोजना कार्यान्वयनका लागि कार्यतालिका नै बनाएर योजनाबद्ध लाग्ने बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘तर बीआरआई अन्तर्गतको वित्तीय लगानी नीतिमा मसिनो ढङ्गले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्छ ।’
उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए । चीनले त्यसका केही नीतिमा परिवर्तन गर्नु आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले धारणा राखे ।
आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । ‘यो मेरो लागि खुसीको कुरा हो, गर्वको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले बताए ।







