काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ को संशोधित व्यवस्थाअनुसार २०८०/८१ को असार मसान्तसम्ममा काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।
उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरुको असार मसान्तसम्म ८.५ प्रतिशत रहेको प्राथमिक पुँजीकोष (टायर वान) ९ प्रतिशत कायम गर्नुपर्नेछ। क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार वाणिज्य बैंकहरुको प्राथमिक पुँजीकोष ८.५ हुनुपर्ने उल्लेख छ।
हाल तीन वटा बैंकको टायर वान ९ प्रतिशतभन्दा कम छ भने आधा दर्जन भन्दा बढी बैंककाे टायर वान ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकको यो व्यवस्थाले यस वर्ष करिब एक दर्जन वाणिज्य बैंक समस्यामा पर्ने देखिन्छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले एनआइसी एसिया, सिद्धार्थ, माछापुच्छ्रे र प्रभु बैंक प्रभावित हुने देखिन्छ । त्यस्तै, हिमालयन, कुमारी, सानिमा, लक्ष्मी सनराइज,नेपाल एसविआई र सिटिजन्स बैंक समस्यामा पर्ने देखिन्छ ।




