काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनीले आगामी कात्तिक १० गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
नेपाल वेयरहाउजिङलाई जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम म्याद कात्तिक २४ गते बैंकिङ समयसम्म रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।




