असोज २३ गतेदेखि आईपीओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

काठमाडौं सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।

त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपिओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *