राष्ट्र बैंकले उठायो दुई महिनामा ४४ अर्ब २६ करोड रूपैयाँ आन्तरिक ऋण

काठमाडौं ।  चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले सरकारको लागि ४४ अर्ब २६ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रूपैयाँ आन्तरिक ऋण उठाइएको हो।

नेपाल राष्ट्र बैंकले पहिलो तीन महिनामा ५५ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउने तालिका तय गरेकोमा दुई महिनामा यो रकम उठाइएको छ। दुई महिनाको अवधिमा बाह्य ऋण भने चार अर्ब ९७ करोड ३२ लाख प्राप्ति भएको छ। कार्यालयका अनुसार साउनमा दुई अर्ब ७१ करोड ८३ लाख र भदौमा दुई अर्ब २५ करोड ४९ लाख प्राप्ति भएको छ।

दुई महिनाको अवधिमा आन्तरिक ऋणको ३२ अर्ब ८३ करोड ३५ लाख र बाह्य ऋणको पाँच अर्ब ८८ करोड २६ लाख रूपैयाँ साँवा भुक्तानी भएको छ। उठाइएको ऋणमा फिर्ता गरिएको ऋण घटाउँदा तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रूपैयाँ पुगेको छ।

यो अवधिमा १० अर्ब ५१ करोड ७१ लाख सार्वजनिक ऋण थपिएको छ। गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रूपैयाँ रहेको थियो।

सार्वजनिक ऋणको ब्याज भुक्तानीको लागि दुई महिनामा ११ अर्ब ६ करोड ४८ लाख रूपैयाँ खर्च गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *